मिरा राईलाई पछ्याउँदै ‘सिर्जना’ (भिडियो सहित)




सङ्खुवासभा, साउन ३० गते । थुप्रै जिल्लाहरुमा आयोजित म्याराथनको उपाधि जितिसेपनि गुमनाम जस्तै बन्नुभएको सिर्जना राई हालै मोरङमा सम्पन्न ७.२ किलोमिटरको महिला दौडको उपाधि जितेसँगै एकाएक चर्चामा आउनुभएको छ । राईको म्याराथनमा राम्रो सम्भावना देखेकाहरुले मिरा राईसँग तुलना गर्न थालेका छन् ।

विद्यालय स्तरिय प्रतियोगिताबाट लामो दुरीको दौड प्रतियोगिता सुरु गर्नुभएको राईले ईटहरीमा भएको प्रदेश स्तरिय छनौट प्रतियोगितामा पनि लगातार दुई पटक पहिलो स्थान ल्याउनुभएको थियो । अहिले कक्षा १२ मा अध्ययनरत १८ बर्षिय राईले यसअघि गृह जिल्ला सङ्खुवासभा, दमक (झापा), धरान (सुनसरी), ईटहरी (सुनसरी), तेह्रथुम, ताप्लेजुङ लगायतका जिल्लाहरुमा भएको लामो दुरीको दौड प्रतियोगिताहरुमा पनि विजेता र उपविजेता भईसक्नुभएको छ ।

थुप्रै प्रतियोगिताहरुमा जिल्लालाई नै प्रतिनिधीत्व गर्दै उपाधी जित्दै गर्दा पनि सम्बन्धीत निकायहरुले कम चासो दिएको खेलाडी सिर्जना राईको गुनासो छ । ईटहरीमा भएको प्रदेश स्तरिय प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिले सहभागी गराएको बाहेक अन्य जिल्लामा आफ्नै खर्चले सहभागी हुँदै आएको राईले बताउनुभएको छ । प्रदेश स्तरिय प्रतियोगितामा विजेता बन्नुभएको राई अब भदौमा काठ्माण्डौमा हुन लागेको प्रतियोगितामा सहभागी हुने मन भएपनि खर्चको जोहो गर्न नसकिरहेको राई बताउनुहुन्छ । लामो दुरीको दौडलाई पनि अन्य खेलहरु जस्तै स्थानीय तह र खेलकुद विकास समितिले महत्वका साथ हेरिदिए केही गरेर देखाउने सिर्जना राईको भनाई छ ।

जिल्लामा एथलेटिक्स खेलको संगठन अरु खेलको जस्तो मजबुद हुन नसक्दा सिर्जना जस्ता प्रतिभाहरुको उचित संरक्षण गर्न नसकिएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष भरत घिमिरेले स्वीकार्नुभयो । हालै एथलेटिक्सको जिल्ला तदर्थ समितिको गठन भएकोले अब निकट भविश्यमा महत्वका साथ हेरिने अध्यक्ष घिमिरेको भनाई छ । विगतदेखि नै सृजना जिल्ला खेलकुद विकास समितिको नजरमा रहेको र पछिल्लो समय लामो दुरीको दौडमा राम्रो सम्भावना देखाएकोले खेलकुद संघले उहाँलाई गर्ने कुनै पनि सहयोग गर्न बाँकी नराख्ने घिमिरेको भनाई छ । सिर्जनालाई उचित संरक्षण र सहयोगको लागि केन्द्रीय प्रशिक्षकसँग पनि कुरा गरिसकेको घिमिरेले जानकारी दिनुभयो ।

https://www.youtube.com/watch?v=vvuCykCq3sU

सम्बन्धित समाचार