इनरुवाका मेयरविरुद्ध अख्तियारमा उजुरी, करोडौं रकम हिनामिना गरेको आरोप




इटहरीः करोडौं रकम अनियमितता गरेको भन्दै इनरुवा नगरपालिकाका मेयर राजन मेहताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । आयोगको क्षेत्रीय कार्यालय इटहरीमा जागरुक नागरिक दबाब समूहले उजुरी दर्ता गरेको हो । नगरपालिका प्रमुख राजन मेहताले विभिन्न शीर्षकमा करोडौं रकम हिनामिना गरेको आरोप उजुरीपत्रमा छ ।

नगरपालिकाले सूचना टेण्डर आह्वान नगरी खरिद ऐन र नियमावलीविपरीत मेयरको आदेशको भरमा विभिन्न आर्थिक काम गर्दै आएको लगायतका एक दर्जन बढी विषयमा अनुसन्धान गरी कारवाही गरिपाऊँ भनी उजुरी दर्ता भएको छ ।
चुनावको बेलामा गरिएको खर्च असुल्ने र त्यसको फाइदा लिने कार्यमा मात्रै मेयर लगायत स्थानीय तहका जनप्रतिनिधि अहिले केन्द्रित भएको दबाब समूहका सह संयोजक दिनेशकुमार लम्सालले बताए ।

अहिले जनप्रतिनिधिले विभिन्न बहानामा खर्च भएको भन्दा बढीको बिल पेश गरेर भुक्तानी लिने, महङ्गो गाडी र मोटरसाइकल खरिद गरी चढ्ने जस्ता कार्यहरु गरेको लम्सालको आरोप छ । लम्सालका अनुसार पेश्की नै लिन नपाउने अवस्थामा पनि जनप्रतिनिधिले ठूलो रकम पेस्की लिएर आर्थिक कारोबार गर्ने गरेका छन् ।

अख्तियारको इटहरी क्षेत्रीय कार्यालयमा दर्ता नम्बर १६२६ मा दर्ता भएको उजुरीमा मेयर मेहताले आर्थिक पक्ष मात्र नभई सामाजिक रूपमा पनि तानाशाही व्यवहार देखाउन थालेको बताइएको छ । प्रचलित आर्थिक नियमावली मात्र होइन न्यायिक क्षेत्रबाट आएका आदेशलाई समेत मेयर मेहताले नमानेर न्यायिक केन्द्रको मानहानि गरेको लम्सालले बताए ।

‘विभिन्न विषयमा हामीले नगरपालिकामा सूचना मागेका थियौँ । तर मेयरको हवाला दिँदै कार्यालयले सूचना दिएन’, लम्सालले भने, ‘त्यसपछि सूचना आयोगमा उजुरी गर्दा आयोगले पनि सूचना दिनू भनेर आदेश गर्दा समेत अझैसम्म पनि सूचना पाएका छैनौँ ।’
मौलिक हक अन्तर्गत कार्यालयको खर्चसम्बन्धी सूचना पनि मेयरकै निर्देशनमा उपलब्ध नगराएको उजुरीमा उल्लेख गरिएको छ । सूचना माग गरेबमोजिम नदिएपछि दबाब समूहले आयोगमा उजुरी दिएको थियो ।

निवेदनमा आर्थिक वर्ष २०७४÷०७५ र चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा खरिद गरिएका सवारी साधन, मेसिनरी सामान, सूचना प्रविधिका सामानको खरिद प्रक्रिया, सोको बिल भपाई र सम्झौताको जानकारी माग गरिएको थियो ।

‘अधिकांश स्थानीय सरकारमा देखिएजस्तै इनरुवामा पनि मेयर राजन मेहता राणाशासनको प्रवृत्ति देखाउन थालेका छन्,’ लम्सालले भने, ‘बेलाबेला त ज्यान मार्ने समेत धम्की पनि आएका छन् । सिडियो सा’पसँग पनि सुरक्षा माग्नुपर्ने अवस्था पनि आएको थियो तर जस्तोसुकै धम्की आए पनि गलतलाई गलत नै भन्ने बानी म हटाउँदिनँ ।’
प्रदेश पोर्टलबाट

सम्बन्धित समाचार