जनप्रतिनिधीलाई गाडी मोहः तेह्रथुमका स्थानीय तहले मात्र झण्डै सात करोडको गाडी खरिद



तेह्रथुम । तेह्रथुमका छवटै स्थानीय तहले विभिन्न किसिमका सवारी साधन खरिदमा झण्डै रु सात करोड खर्च गरेका छन् । कार्य सम्पादनमा सहजता ल्याउनका लागि आवश्यक भएको भन्दै स्थानीय तहको मोटो बजेट गाडी खरीदमा खर्च भएको छ । सबै स्थानीय तहको गरी कूल रु छ करोड ९० लाख ३९ हजार ७०० गाडी खरीदमा खर्च भएको छ ।

म्याङ्लुङ नगरपालिकाले चालू आर्थिक वर्षमा रु ५५ लाखमा एउटा स्कार्पियो गाडी खरीद गरेको छ । यस्तै रु २९ लाखमा १० वटा मोटरसाइकल खरीद गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्लेले बताउनुभयो । गाडी नगर प्रमुखका लागि खरीद गरिएको र मोटरसाइकल नगरपालिकाका १० वटै वडाका वडाध्यक्षका लागि खरीद गरिएको नगरपालिकाले जनाएको छ ।

रु १९ लाखमा एउटा ट्र्याक्टर किनिएको र कर्मचारीका लागि थप १० वटा मोटरसाइकल किन्ने तयारी रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पहिले रु ३० लाखमा किनेको पिकअप गाडी चालू अवस्थामा छ । अरु छ वटा मोटरसाइकल र एउटा स्कुटर पनि सञ्चालनमा रहेको छ ।

लालीगुराँस नगरपालिकाले पनि रु ३३ लाखको पछाडि सामान बोक्न मिल्ने एउटा चार चक्के गाडी र १५ वटा मोटरसाइकल खरिद गरेको छ । नौ वटा मोटरसाइकल रु दुई लाख १७ हजारका दरले, तीन वटा रु दुई लाख ६० हजारका दरले र बाँकी तीन वटा भने रु दुई लाख तीन हजार, चार लाख ८० हजार र चार लाख ८४ हजारका दरले खरीद गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम निरौलाले बताउनुभयो ।

यसका साथै रु ३० लाखको एउटा ट्र्याक्टर, ९५ लाखको एउटा स्काभेटर र ३८ लाखको जेसिवीसमेत खरिद गरेको नगरपालिकाले जनाएको छ । चालू आर्थिक वर्षमा एउटा एम्बुलेन्स खरीदका लागि रु १० लाख र नगर बस खरीदका लागि रु ४५ लाख रकम छुट्याएर आवश्यक प्रक्रिया अगाडि बढाइएको अधिकृत निरौलाले बताउनुभयो ।

उता छथर गाउँपालिकाले पनि रु ६५ लाखमा पछाडि सामान बोक्न मिल्ने एक सवारी साधन खरीद गरेको छ । चार वटा मोटरसाइकल रु दुई लाख १७ हजारका दरले रु आठ लाख ६८ हजारको र रु दुई लाख ६० हजारमा थप एउटा मोटरसाइकल खरीद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य भण्डारीले बताउनुभयो । साविकका गाविसले खरीद गरेका तीन वटा मोटरसाइकल हाल वडाध्यक्षले प्रयोग गर्दै आएका छन् ।

मेन्छ्यायेम गाउँपालिकाले रु ६१ लाख ५० हजारमा स्कार्पियो गाडी खरीद गरेको छ । रु दुई लाख १७ हजारका दरले छ वटा मोटरसाइकल पनि खरीद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवदीप राईले बताउनुभयो ।
फेदाप गाउँपालिकाले रु ५४ लाख १५ हजारको स्कार्पियो गाडी र रु पाँच लाख ९४ हजार ९०० का दरले तीन वटा मोटरसाइकल खरीद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले बताउनुभयो । उहाँले रु तीन लाखका दरले थप तीन वटा मोटरसाइकल पनि चाँडै खरीद गरिने बताउनुभयो ।

साविक गाविसले पहिले नै पाँच वटा मोटरसाइकल खरीद गरेका थिए । आठराई गाउँपालिकाले रु ५२ लाखमा एउटा स्कार्पियो गाडी र रु दुई लाख १५ हजारका दरले चार वटा मोटरसाइकल खरीद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र दाहालले बताउनुभयो ।

उहाँले कार्यालय प्रयोजनका लागि थप एउटा मोटरसाइकल खरीद गर्न रु पाँच लाख रकम छुट्याएको बताउनुभयो । साविकका गाविसले खरीद गरेका सात वटा मोटरसाइकल वडाध्यक्षले प्रयोग गर्दै आएको गाउँपालिकाले जनाएको छ ।
यातायातका साधन आवश्यक भए पनि आवश्यकताभन्दा बढीमात्रामा खरीद गरिनुले जनप्रतिनिधि तथा कर्मचारी अलिक बढी विलाशीता भोगी हुँदै गएको आभास भइरहेको सर्वसाधारणले गुनासो गर्न थालेका छन् ।

सम्बन्धित समाचार