आफ्नै साथी ‘बँदेल’जस्तो देखिएको भन्दै गोली प्रहार



धरान । युवा पुस्ताका हातमा बन्दुक । कुनै विद्रोह, राजनीतिक युद्ध पनि होइन । विशुद्ध जंगलमा शिकार । शिकार गर्न गएका बेला आफ्नै साथीलाई गोली प्रहार । हत्यापछि जंगलमा गाडेर अपराध लुकाउने प्रयास ।

यस्तै घटना सार्वजनिक भएको सुनसरीमा । इलाका प्रहरी कार्यालय धरानले उदय सामुदायिक वनबाट गाडिएको अवस्थामा शव निकालेपछि यस्तो खुलासा भएको छ । धरान १७ स्थित नमस्ते चोकका २१ वर्षीय आशीष ठटालको हत्या गरेर गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको हो ।

११ दिन अघिदेखि आशिष हराइरहेका थिए । उनीसँगै शिकार खेल्न गएका साथीहरुलाई पक्राउ गरेपछि आशीषको हत्या भएको खुलेको हो । सोमबार प्रहरी र फोरेन्सिक विज्ञसहितको टोलीले उदय वनबाट आशीषको शव निकालेको छ । शव बोरामा पोका पारेर खाल्डोमा गाडिएको थियो ।

परिवारले आशीष हराएको उजुरी दिएपछि प्रहरीले शंकाका आधारमा आशीषका साथी कमल गुरुङ र मदन बराइलीलाई पक्राउ गरेको थियो । उनीहरुले शिकार खेल्न जाँदा हत्या गरेर शव गाडेको बयान दिए । त्यति होइन, भने, ‘त्यो दिन आशीष ज्वरो आएको भनिरहेको थियो, हामी जंगल चाहार्दै थियौँ, आशीष रुखमा अडेस लागेर बसिरहेको थियो, टाढाबाट हेर्दा बँदेल भन्ठानेर प्रहार गर्दा आफ्नै साथी प¥यो ।’ त्यसदिन आशीषले छिर्केमिर्के ज्याकेट लगाएका थिए । इलाका प्रहरी कार्यालय धरानका प्रमुख सुमन तिमिल्सिनाले प्रारम्भिक अनुसन्धानक्रममा कर्तव्यज्यान देखिएकाले थप अनुसन्धान भइरहेको बताउँदै घटनामा संलग्न ६ जनालाई पक्राउ गरिएको बताउनु भयो ।

सम्बन्धित समाचार