पेट्रोलियम पदार्थको मूल्य दुई रुपैयाँ घट्यो



मंसिर १८,। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा प्रति लिटर दुई रुपैयाँ घटाएको हो । निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको हो ।
यससँगै अब पेट्रोलको नयाँ बिक्री मूल्य प्रतिलिटर १ सय १२ रुपैयाँ तथा डिजेल र मट्टितेलको ९९ सय रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा कमी आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । हाल कच्चा तेलको मूल्य अस्थिर भएको कारणले गर्दा आगामी दिनमा प्राप्त हुने नयाँ मूल्य र स्वचालित मूल्य प्रणालीको संयन्त्र बमोजिम नै मूल्य समायोजन गर्दै जाने निगमले जनाएको छ ।
यो मूल्य समायोजन पश्चात पनि भारतको रक्सौल भन्दा नेपालको वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ ३२ पैसा तथा डिजेलमा प्रतिलिटर १५ रुपैयाँ ७१ पैसा सस्तो रहेको निगमले जनाएको छ । विगत साढे दुई महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा पुगी एक महिनामा नै निगमको घाटा २ अर्ब रुपैयाँ भन्दा बढी पुगेको थियो । चालू आर्थिक वर्षको हालसम्म निगमको घाटा करीब ३ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ ४४ पैसा नाफा रहेको निगमले जनाएको छ । डिजेलमा प्रति लिटर ५ रुपैयाँ ८१ पैसा नाफा छ भने, एलपी ग्यासमा प्रति सिलिण्डर २ सय ८४ रुपैयाँ ८३ पैसा घाटा रहेको निगमले जनाएको छ । निगमका अनुसार, ग्यासमा घाटा भएपनि आगामी १५ दिनमा करीब ५६ करोड ५८ लाख रुपैयाँ नाफा हुने देखिन्छ ।

सम्बन्धित समाचार