बाख्रा पाल्न लिएको अनुदान रकमले मोटरसाईकल किनेको आरोप



संखुवासभा । राष्ट्रिय युवा परिषद अन्तरगत जिल्ला युवा समिति संखुवासभाबाट युवा उद्यम कार्यक्रम मार्फत बाख्रापालन व्यवसायको चार लाख रुपैंया अनियमितता भएको छ । बाख्रापालन व्यवसाय गर्ने भनेर पाँचखपन नगरपालिका ५ को मिश्रित कृषि समूहले चार लाख रुपैंया रकम लिएको थियो । समूहको रकम कहिले लिएको भन्ने सचिवलाई समेत जानकारी नदिएको र केहि समय अघि थाहा भएपछि उक्त रकम खोज्दा पोख्रेलले बाइक खरिद गरेको र बाँकी रकम रिण तिरेको बताएको सचिव रमेश पोख्रेलले जनाए ।

सचिवले रकम खोजी गर्न जिल्ला युवा समितिमा समेत निवेदन दिएका थिए । निवेदन माथि छलफल गर्न संघीय सांसद राजेन्द्र गौतम, प्रदेश सांसद तुलसी न्यौपाने, प्रदेश सांसद सरिता खड्का र सचिव पोख्रेल सहितको टोलीले खाँदबारीमा मानसिंङलाई बोलाएको तर उक्त दिन पोख्रेलले फोन स्वीच अफ गरेर छलफलमा सामेल नभएको सचिव पोख्रेलले बताए । तर मानसिङले सो कुरा झुठा भएको बताए । चारलाख रुपैंया लिनु भन्दा अगाडीनै बाइक खरिद गरेको बताए । फोनमा ब्याट्री सकिएर अफ भएको र उक्त दिन कार्यक्रमका लागि नेताहरु जिल्ला आउने भएकोले त्यतै व्यस्त भएको बताए । पुन छलफलका लागि जिल्ला समितिबाट बोलाए पछि आफू उपस्थित भए पनि उनीहरु उपस्थित नभएको पोख्रेलले बताए । तर उक्त रकमको काम भने पुस महिनादेखि मात्र सुरु गर्ने मानसिङ पोख्रेलले बताए । दशैं, तिहार लगायतको चाडबाडले काम गर्न नभ्याएको बताए ।

समूहका अध्यक्ष सञ्जीव पोख्रेलसँग यो विषयमा कुरा गर्दा काजीमान पोख्रेल समूहको अध्यक्ष भएपनि उनी वैदेशिक रोजगारमा गएपछि समूहले आफूलाई अध्यक्ष बनाएको सञ्जिवले बताए । आफू अध्यक्ष हुँदा एकल निर्णय भएको भन्दै समितिका सदस्यहरुले गुनासो गरेको सञ्जिवले बताए । बाख्रा पालनका लागि लिइएको रकम मानसिङले चलाएको सञ्जीवले बताए ।

आर्थिक वर्ष २०७४÷०७५ को कार्यक्रम अनुसार संखुवासभामा दुई ओटा युवा उद्यम कार्यक्रम छनौट भएको थियो । जिल्ला युवा समितिद्धारा छनौटमा परेको आङ्ला कृषक समूह र मिश्रित कृषि समूहका लागि राष्ट्रिय युवा परिषदको निर्णय अनुसार सहकारी मार्फत रकम उपलब्ध गराउने नियम छ । गत असोज ६ गते मिश्रित समूह र ७ गते आङ्ला कृषक समूहले खाँदबारी बचत तथा रिण सहकारी संस्थाबाट रकम लिएको थियो । आङ्ला कृषक समूह खाँदबारीले तरकारी खेती विस्तारको काम गरिरहेको जिल्ला युवा समिति संखुवासभाका अध्यक्ष हरि लिम्बुले बताए । समूहका अध्यक्ष लक्ष्मी राईका अनुसार अहिले तरकारी उत्पादन सुरु हुन लागेको छ ।

पुर्वेली न्युजबाट

सम्बन्धित समाचार