अरुण तेश्रोबाट स्थानीय बेखुसी



सङ्खुवासभा । पाँच बर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरि राष्ट्रिय गौरबको आयोजना अरुण तेश्रोको निर्माण कार्य भईरहेको छ । पावर हाउस र ड्याम साईड निर्माण क्षेत्रमा धमाधम काम भईरहदा स्थानीय नागरिकहरु भने खुसी छैनन ।

अरुण तेश्रोका ड्याम निर्माण क्षेत्र फ्याक्सिन्दामा डेढ सय मिटर सुरुङ खनिसकिएको छ । अहिले यस क्षेत्रमा २४ सै घण्टा काम भईरहेको छ । ड्याम साईड क्षेत्रमा जय प्रकाश एसोसियटसले काम गरिरहेको छ भने पावर हाउस निर्माण क्षेत्रमा पट्टेल ईन्जीनियरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेको छ ।

तर यहाँका स्थानीय नागरिकहरु भने अहिले आएर आयोजनासँग रुष्ट हुन थालेका छन् । पिडिएमा गरिएको ब्यवस्था अनुसार स्थानीयलाई रोजगारी र स्थानीय बस्तुको उभगोग नभएको भन्दै स्थानीय नागरिकहरु रुष्ट हुन थालेका हुन् । स्थानीय युवाहरुलाई रोजगारीमा पहिलो प्राथमिकता दिईने, अदक्ष, अर्धदक्ष र दक्ष युवाहरुलाई सोही अनुसारको रोजगारी दिने भनिएपनि अहिलेसम्म कसैलाई त्यस्तो सुविधा नदिएको मकालु गाउँपालिकाका स्थानीय बसन्त गुरुङको दुखेसो छ । अरुण तेश्रो आएपछि स्थानीय बजार प्रबर्धन र विकास हुने भनिएपनि सम्पुर्ण खाद्यसामग्रीहरु देश बाहिरबाटै ल्याउने हुँदा विकासको साटो फोहोर मात्र बढेको स्थानीयको आरोप छ ।
अरुण तेश्रो प्रभावित क्षेत्रका अधिकांसलाई मुआब्जा वितरण गरिसकिएको छ । तर केही नागरिकहरुले छ्याङ्कुटीबाट पावर हाउससम्म जाने सडकको मुआब्जा नपाएपछि त्यस क्षेत्रका नागरिकहरु पनि अरुण तेश्रो आयोजनासँग खुसी छैनन् । सम्बन्धीत सवै निकायले तत्काल पुनरावलोकन गरेर समस्याको समाधान गर्दै स्थानीयलाई मुआब्जा वितरण गर्नु पर्ने चिचिला गाउँपालिकाका स्थानीय नयन्द्र राईको माग छ ।

यस विषयमा सरोकारवालाहरुलाई कुरा गर्दा पिडिएमा भएको सम्झौता कार्यन्वयन गराउनको लागि गम्भीर भएर लागिपरेको बताउछन् । छ्याङ्कुटी–पावर हाउस सडक खण्डको मुआब्जाको बारेमा दुई थरि कुरा आएकोले समय लागेको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको भनाई छ । आयोजना विकास कम्पनीले त्यस क्षेत्रमा ३० मिटरको जग्गाको मुआब्जा ४५ सालमा नै दिईसकेको दावी गर्दै आएको छ भने स्थानीयले १५ मिटरको मात्र आफुहरुले लिएको बताउने गरेका छन् । यसको अध्ययन भईरहेको प्रमुख शाक्यको भनाई छ । किचलो नभएको ४ दशमलब २ किलोमिटर जमिनको मुआब्जा हालै वितरण गरिएको र अन्यको पनि टुंगो लागेपछि मुआब्जाको प्रकृयामा लगिने उहाँले बताउनुभयो । त्यस्तै, स्थानीयलाई सिप विकास तालिम र रोजगारीको विषय पिडिएमा दोश्रो नम्बरमा रहेकोले कार्यन्वयनको चरणमा रहेको प्रमुख शाक्यले बताउनुभयो ।

हाल भारतबाट ल्याईएको मजदुर र केही पश्चिम नेपालबाट ल्याईएको मजदुरले धमाधम काम गरिरहेका छन् । यसरी आफ्नो क्षेत्रमा अन्यत्रबाट ल्याईएको कामदारले २४ सै घण्टा रोजगार पाईरहदा स्थानीय जनशक्ति भने रमिते मात्र बनेका छन् । यस्तो समस्याको समाधान गर्न लगानी बोर्ड, विद्युत विकास कम्पनी र स्थानीय सरोकारवालाहरुले बेलैमा बिवेक पुराउनु पर्छ, नत्र स्थानीयबाट निर्माण क्षेत्रमा अवरोध आउन सक्ने देखिन्छ ।

सम्बन्धित समाचार