पाथीभरा मन्दिरमा चार वर्षमा दुई करोड भेटी संकलन




ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार वर्षमा दुई करोड हाराहारी भेटी सङ्कलन भएको छ । गत २०७२ साल फागुन २२ देखि हालसम्म दर्शनार्थीले चढाएकोे भेटी रकम रु एक करोड ७२ लाख १५ हजार ५४६ पुगेको पाथीभरा भेटिपाती व्यवस्थापन समितिले जनाएको छ ।

सो रकम दर्शनार्थीले भेटीस्वरुप चढाएका हुन् । पछिल्लो पाँच महीनाको भेटी रकम गणनापछि सोमबार पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार १४ मुलुकका विदेशी मुद्रा गणना गर्न र सुनचाँदी नापतौल गर्न भने बाँकी छ । पछिल्लो पाँच महीनामा मात्रै ५३ लाखबढी भेटी रकम जम्मा भएको छ । हालसम्मको सबै रकम बैंकमा जम्मा गरिसकिएको छ ।

पछिल्लो एक वर्षको ८० क्विन्टल सिक्कासमेत सङ्कलन गरी सदरमुकाममा ल्याउने काम भइरहेको समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिनुभयो । यस्तै ८५ हजार ३९० भारतीय रुपैयाँ सटही गर्न बाँकी छ । बर्षेनी पाथीभरामा स्वदेशी तथा विदेशी दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । रासस

सम्बन्धित समाचार