पांमा कपको उपाधी आयोजकको पोल्टामा




सङ्खुवासभा, पुष ८ गते । पुष ४ गतेबाट सुरु भएको तेश्रो पांमा कप फुटबल प्रतियोगिताको उपाधी आयोजक पांमा सामुदायिक क्लव ए ले जितेको छ । भगिवन्त रंगशालामा आज भएको फाईनल खेलमा तुम्लीङटार स्पोर्टिङ क्लवलाई २–१ गोलले हराउँदै पांमा सामुदायिक क्ल्वले उपाधी जितेको हो ।

खेलको पहिलो हाफमा जर्सी नम्बर ११ का पर्शु राईले ६ मिनेटमा पहिलो गोल गरेका थिए भने दोश्रो गोल १५ मिनेटमा राईले नै गरेका थिए । पहिलो खेल तुम्लिङटारका खेलाडीले डि बक्समा हेण्ड गरेपछि फ्रि किक मार्फत गोल गरेका हुन् ।

पहिलो हाफ भरि नै पांमाको दवाबमा रहेको तुम्लिङटारले दोश्रो हाफमा एक गोल फर्काएको हो । तुम्लीङटारको ११ नम्बर जर्सीका दिनेश राईले दोश्रो हाफको १३ मिनेटमा १ गोल फर्काएको हो । दोश्रो हाफमा रक्षात्मक खेल खेलेपनि तुम्लिङटारले थप गोल गर्न नसकेपछि एक गोलमै सिमित हुँदै उपविजेतामा चित्त बुझाएका छन् ।

प्रतियोगिताको उत्कृष्ठ खेलाडी पांमा सामुदायिक क्लवका मोहन गुरुङ घोषित भएका छन् भने सर्वाधिक गोलकर्ता पनि पांमा क्लवकै सनम भुजेल भएका छन् । उत्कृष्ठ गोल रक्षकको उपाधी भने तुम्लीङटार स्पोर्टिङ क्लवका सुदिप चौधरी घोषित भएका छन् ।

प्रतियोगिताको विजेताले १ लाख १३ हजार नगद, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता टिमले नगद ५५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सेमिफाईनलमा प्रवेश गरेका संखुवासभा युनाईटेड क्लव र चिसापानी युथ क्लवले १५ र १५ हजार रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै, उत्कृष्ठ खेलाडीले ५ हजार रुपैयाँ नगद, उत्कृष्ठ गोल रक्षक र सर्वाधिक गोलकर्ताले जनही ३ र ३ हजार नगद र ट्रफी प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार