सहयोग संकलनबाट स्थापित रंगशालाको खेलकुद मन्त्रीद्वारा उद्घाटन



भगिवन्त रंगशाला उद्घाटन गर्नुहुँदै विशिष्ट अतिथीहरु सहित मन्त्री विश्वकर्मा ।

सङ्खुवासभा, पुष ९ गते । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सङ्खुवासभाको खाँदबारी नगरपालिका ४ गैरी पांमामा स्थापित भगिवन्त रंगशालाको उद्घाटन गर्नुभएको छ । पांमा कप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा सङ्खुवासभा आउनुभएका मन्त्री विश्वकर्माले रंगशालाको उद्घाटन गर्नुभएको हो ।

रंगशाला निर्माणको लागि स्थानीय गाउँलेबाट निशुल्क प्राप्त भएको ९ रोपनी र सहयोग रकम संकलन गरेर खरिद गरिएको ११ रोपनी गरि २० रोपनी क्षेत्रफलमा भगिवन्त रंगशाला स्थापना गरिएको हो । स्थानीयबाट दुई करोड रुपैयाँ भन्दा बढी मुल्यको जग्गा निशुल्क प्राप्त भएको थियो भने बाँकी ११ रोपनीको लागि देश विदेशबाट रकम संकलन गरिएको थियो । रंगशाला निर्माणको लागि स्थानीय सुरेश राई, बिरेश राई, लालबहादुर राई, रुद्रबहादुर राई चम्पा राई, रामकृष्ण राई र धनमाया राईले ९ रोपनी जग्गा निशुल्क दिएका थिए । जग्गा दाताको चाहना अनुसार उनीहरुको पुर्खाको नामबाट ‘भगिवन्त रंगशाला’ नामाकरण गरिएको स्थानीय पांमा सामुदायिक सेवा क्लवका सल्लाहकार सन्तोष राईले जानकारी दिनुभयो । पहाडी क्षेत्रमा स्टेडियम बनाउन कम्तीमा २५ रोपनी जग्गा आवश्यक पर्ने भएकोले अपुग पाँच रोपनी जग्गा खरिदको लागि पनि आर्थिक संकलन भईरहेको राईले जानकारी दिनुभयो । अपुग जग्गा थपेर सुविधा सम्पन्न प्याराफिट सहितको स्टेडियम बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

भगिवन्त रंगशालाको उद्घाटन गर्नुहुँदै युवा तथा खेलकुद मन्त्री विश्वकर्माले ब्यवस्थीत रंगशाला निर्माणको लागि डिपिआर तयार गरेर मन्त्रालयमा ल्याए आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । डिपिआर तयारी पछि ७०÷३० को अनुपातमा खर्च ब्यहोर्ने गरि स्टेडियम बनाउन सकिने उहाँले बताउनुभयो । स्थानीय स्तरमा नागरिकहरुकै लगानी र सक्रियतामा रंगशालाको स्थापना हुनु सराहनीय कार्य भएकोले आफ्नो क्षेत्रबाट सहयोग गर्ने मन्त्री विश्वकर्माको भनाई थियो । सोही कार्यक्रममा बोल्नुहुँदै प्रदेश सभा सदस्य पुर्णप्रसाद राईले प्रदेश सरकारले ५० लाख रुपैयाँसम्म बजेट उपलब्ध गर्नसक्ने प्रतिबद्धता जनाउनुभयो । ‘बाँकी अपुग जग्गा तुरुन्तै ब्यवस्था गर्नुहोस, प्रदेश सरकार ५० लाख रुपैयाँसम्म लगानी गर्न तयार छ,’ सांसद राईले भन्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथीको रुपमा सहभागी एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि अब स्थानीय पांमा सामुदायिक क्लवसँग सहकार्य गरेर जाने उद्घोष गर्नुभयो । भगिवन्त रंगशाला ब्यवस्थीत भए विभिन्न लिग चरणका खेलहरु सञ्चालन गर्न सकिने शेर्पाले बताउनुभयो । भगिवन्त रंगशाला पांमा सामुदायिक सेवा क्लवको स्वामित्वमा रहेको छ । यस रंगशालामा विगत तीन बर्षदेखि पांमा कप फुटबल प्रतियोगिता हुँदै आएको छ ।

सम्बन्धित समाचार