सडकमै चालकको आँखा परिक्षण




खाँदबारी । अस्थायी ट्राफिक प्रहरी पोष्ट सङ्खुवासभाले सवारी चालकहरुको आँखा जाँच सुरु गरेको छ । बढ्दो सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यले विहिबार सडकमा नै चालकको आँखा जाँच गरिएको हो ।

आँखा जाँचको पहिलो दिन जिल्लाको सदरमुकाम खाँदबारी बजार प्रवेश मार्गमा गुडेका सवारी चालकहरुको आँखा परिक्षण गरिएको छ । आज पहिलो पटक एक सय ९६ जनाको आँखा परिक्षण गरिएको प्रहरी ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक निरिक्षक मानबहादुर खत्रीले जानकारी दिनुभयो । आँखाको परिक्षण गरिएकाहरु मध्ये एक जनाको कलर भिजनमा समस्या रहेको पाईएको उहाँले बताउनुभयो । कलर भिजन कमजोर हुँदा सडक लाईटमा समस्या हुने खत्रीले बताउनुभयो ।

देशभर सडक दुर्घटना बढिरहेको अवस्थामा दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यका साथ सवारी चालकहरुको आँखा परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक बर्षमा सङ्खुवासभामा २३ वटा सडक दुर्घटना भएको थियो भने ११ जनाले ज्यान गुमाएका थिए । यस बर्ष पनि हालसम्म ११ वटा सडक दुर्घटना भईसकेको र १ जनाको मृत्यु भईसकेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा छ । सवारी चालकहरुको दृष्टिमा हुने समस्याको कारण पनि दुर्घटना हुने भएकोले आँखाको परिक्षण गरिएको बताईएको छ ।

सम्बन्धित समाचार