खाँदबारी मेयर कप भलिबल प्रतियोगिता हुने




खाँदबारी । खाँदबारी नगरपालिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । नगरपालिकाको प्रथम मेयर किरण शाक्य शाक्यको सम्झनामा खाँदबारी मेयर कप रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता गर्ने भएको हो ।

प्रतियोगिता माघ १५ गतेबाट १८ गते सम्म सञ्चालन हुने जानकारी गराईएको छ । प्रतियोगितामा सङ्खुवासभाका १० स्थानीय तहको टिमले सहभागीता जनाउने छन् भने छिमेकी जिल्ला भोजपुरको साल्पा सिलिछो र षडानन्द नगरपालिकाले पनि सहभागिता जनाउने आयोजकले जनाएको छ । त्यस्तै, सङ्खुवासभाका सिलिचोङ गाउँपालिका र पाँचखपन नगरपालिकाका महिला टिमहरु विच पनि मैत्रीपुर्ण खेल प्रदर्शन गरिने नगर प्रमुख मुरारी खतिवडाले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले तीन बर्षे रनिङ शिल्ड, पदक र प्रमाणपत्र सहित नगद एक लाख ३४ हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ट्रफी, पदक र प्रमाण पत्र सहित ६७ हजार नगद प्राप्त गर्नेछ । सेमि फाईनल प्रवेश गर्ने दुवै टिमले पनि ३३ हजार ५ सय रुपैयाँ नगद सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै, पाँच विधाका उत्कृष्ठ खेलाडीहरुले पनि ट्रफी, पदक र प्रमाणपत्र सहित जनही पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

खेलाडीहरुलाई थप प्रोत्साहन रकम पनि प्रदान गरिने आयोजकले जनाएको छ । खेलको ब्यवस्थापन खाँदबारी नगर खेलकुद विकास समितिले गर्ने भएको छ भने प्राविधिक सहयोग जिल्ला भलिबल संघले गर्ने बताईएको छ । खेल खाँदबारीको हटिया लाग्ने टुँडीखेलमा सम्पन्न हुनेछ ।

सम्बन्धित समाचार