बुहारी हत्या अभियोगमा कारागारमा रहेका ६७ वर्षीय देवनारायणकाेे मृत्यु



धनुषा । बुहारीको हत्या आरोपमा महोत्तरीको जलेश्वर कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२ किशोरीनगर घर भई बुहारी हत्या अभियोगमा झण्डै २ वर्षदेखि कारागारमा रहेका ६७ वर्षीय देवनारायण ठाकुरको बुधबार बिहान उच्च रक्तचापबाट ज्यान गएकोे हो ।

बुधबार बिहान अचानक रक्तचाप बढेपछि उनलाई उपचारका लागि जलेश्वरको शान्ति सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो ।  उपचारकै क्रममा उनको मृत्यु भएको निमित जेलर मकसुदन महासेठले जानकारी दिनुभयो । उनको शव परिवारजनलाई बुझाउने तयारी भइरहेको उहाँको भनाइ छ ।

जलेश्वर कारागारका निमित्त जेलर मकसुदन महासेठका अनुसार ठाकुर २०७४ साल पुस ९ गतेदेखि जलेश्वर कारागारमा पूर्पक्षका लागि थुनामा रहेका थिए ।

ठाकुरलाई कान्छा छोरा आनन्दमोहन शर्माकी श्रीमती २२ वर्षीया रञ्जना शर्माको हत्या अभियोगमा धनुषा जिल्ला अदालतको आदेशमा पूर्पक्षका लागि जलेश्वर कारागारमा थुनुवा थिए ।

सम्बन्धित समाचार