भद्रपुरका एक युवा स–साना विद्यार्थीका माझ अभिभावक भएर उभिए



भद्रपुर । ‘धन भएर केही हुँदैन, मन ठुलो हुनुपर्छ, मन ठुलो भए दान गर्ने इच्छा शक्ति आफैमा जाग्छ,’ यस्तै दानवीर दाताको रूपमा झापा भद्रपुरका एक युवा स–साना विद्यार्थीका माझ अभिभावक भएर उभिएका छन्।  सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत बाल विकास कक्षाका विद्यार्थीलाई दैनिक खाजा खुवाउँदै आएकाे थियो।

सरकारले गत आर्थिक वर्ष ०७५/७६ को साउन देखि बाल विकास कक्षाका विद्यार्थीलाई दिँदै आइरहेको खाजा खर्चको रकम कटौती गरेको छ। बाल विकासका विद्यार्थीका खाजा खर्च बापत सरकारले विद्यार्थीको सङ्ख्या अनुसार विद्यालयलाई रकम निकासा गर्दै आइरहेका थिए।

सोही रकमबाट विद्यालयले बाल विकास कक्षामा अध्ययनरत गरिब, दलित तथा सीमान्तकृत विद्यार्थीलाई खाजा खुवाउँदै आइरहेका थिए। सरकारले रकम कटौती गरेपछि विद्यालयले विद्यार्थीलाई खुवाउन छाड्न बाध्य भए। विद्यालयले खाजा खुवाउन छाडे लगतै बाल विकासमा पढ्न आउने विद्यार्थीको सङ्ख्या समेत घटन थाल्यो।

सरकारले दिँदै आइरहेको खाजा खर्चको रकम कटौती गरेको थाहा पाएपछि भद्रपुर नगरपालिका ५ बस्ने युवा व्यापारी सञ्जय घोष भद्रपुरस्थित गौतम बुद्ध प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि अभिभावक भएर अगाडि आए।  युवा व्यापारी घोषले आफ्नो एकल लगानीमा गौतम बुद्ध प्राविका बाल विकासदेखि कक्षा ५ सम्मका दुई सय विद्यार्थीलाई विगत तीनमहिनादेखि खाजा खुवाउँदै आइरहेका छन्। उनले जेठ १ गतेदेखि विद्यार्थीलाई खाजा खुवाउन थालेका हुन्।

सम्बन्धित समाचार