हिउँदे मकैमा फौजी किराको प्रकोप र अदुवामा गाना कुहिने रोगले किसान मारमा



उदयपुर।  हिउँदे मकैमा फौजी किराको प्रकोप र अदुवामा गाना कुहिने रोगले किसान मारमा परेका  छन। उदयपुरको पहाडी क्षेत्रका किसानले व्यवसायिक रुपमा गर्दै आएको अदुवा खेतीमा गाना कुहिने रोग देखा परेको छ, भने हिउँदे मकैमा फौजी किराको संक्रमण देखा परेपछि किसान मारमा परेका हुन्।

कटारी नगरपालिका लिम्पाटारका स्थानीय अगुवा कृषक धुर्व कार्कीले हिउँदे मकै र अदुवामा देखा परेको समस्याले किसान चिन्तामा परेको बताए। ‘हिउँदे मकैमा फौजी किराको समस्या परेको छ,’ उनले भने, ‘अदुवामा गाना कुहिने रोगले अदुवा पनि सखाप भएको छ।’ वर्खे मकै खडेरीले सखाप भएपछि हिउँदामा लगाएको मकैमा पनि फौजी किरा देखा परेपछि किसानलाई चिन्तामा परेको छन।

व्यावसायिक रुपमा अदुवा खेती गर्दै आएको अधिकांश अदुवा कृषकहरुलाई गाना कुहिने समस्याले सताएको राष्ट्रिय कृषक समुह महासंघ उदयपुरका अध्यक्ष कुशल राउतले बताए। ‘पालिका कृषि शाखा र जिल्ला कृषि ज्ञान केन्द्र मार्फत किसानका समस्या सहजीकरण गरिरहेका छौ,’ उनले भने, ‘अदुवाको गाना बढ्ने बेलामा गानानै कुहिने समस्या आएकाले समस्या बनाएको छ।’

हाडी क्षेत्रमा मकै तथा तरकारी बालीमा फौजी किराले आक्रमण गरेपछि कृषकहरु चिन्तित बनेका छन्। कटारी नगरपालिकाको लेखानी, हर्देनी मंयाखु, सिरिसे, सोरुङ्ग छविसे, ताप्ली गाउँपालिका, लिम्चुङ्गबुङ्ग गाउँपालिका लगायतको क्षेत्रका किसानहरुले लगाएको बालीमा यो किरा देखिएको बताइएको छ। किराको आक्रमणबाट कृषकको मकै तथा तरकारी बालीमा पूर्ण रुपमा क्षति पुगेको छ।

डाले घाँसहरुमा समेत किराले आक्रमण गरेपछि पशुपालन गर्ने कृषकहरुलाई समेत समस्या परेको किसानहरुको भनाइ छ। ‘समयमा पानी नपर्दा  खडेरीले मकै बारीमै म¥यो, अहिले बिरुवामा फौजी किराको आक्रमणले सखापहुने अवस्था रहेको कटारी नगरपालिका सोरुङ दुर्गा विष्टले बताए। किरा नियन्त्रणको लागि विषादीसहितको प्राविधिक टोली गाउँमा खटाइसकेको कटारी नगरपालिकाका उपप्रमुख भीमकुमारी राउतले जानकारी दिएकी छिन्।

सम्बन्धित समाचार