उमेर नपुग्दै विवाह, परिपक्वतासँगै सम्बन्धविच्छेद



रोल्पा । गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलकी निर्मला थापा। अहिले उनको उमेर २० वर्ष पुग्यो। चार वर्षीया एक छोरीसहितको असल परिवार थियो थापा दम्पतीको। थापा दम्पतीमा विस्तारै वेमेल बढ्दै गयो। राजबहादुरले श्रीमतीलाई अनावश्यक आशंका गर्ने, कुटपिट गर्ने र खान लाउन नदिने गर्न थाले।

सँगै बसेर बाँकी जीवन जीउन नसक्ने निष्कर्षमा पुगेपछि थापा दम्पती एक्ला एक्लै बस्न थाले। निर्मला सदरमुकाम लिवाङ आई ज्याला मजदूरी गरेर पेट पाल्नुपर्ने बाध्यतामा पुगेकी छन्। रोल्पा नगरपालिका–९ ह्वामाकी मिना डाँगीले १६ वर्षमा विवाह गरिन। विवाह गरेको एक वर्षमा जेठो र अर्को एक वर्षपछि कान्छो छोरा जन्मिए।

दुई छोरा जन्माउँदा उनको उमेर १८ वर्षमात्रै भएको थियो। अहिले उनको उमेर २० वर्ष भयो। यतिबेला उनीसँग न छोरा छन् न त श्रीमान् नै। श्रीमान्ले दिनहुँ कुटपिट गर्ने र खान लाउनसमेत नदिएपछि सम्बन्ध टाढिँदै गयो। परिवारिक अवस्था राम्रो नहुँदा दुई छोरालाई राम्रोसँग रेखदेख पुग्न सकेन। फलतः तीन वर्ष पूरा भएका जेठो छोरा गौरवको मृत्यु भयो। उनी अहिले सदरमुकाम लिवाङमा एकल जीवन बिताउँदै मजदूरी गरेर जीविका चलाउँछिन्।

सम्बन्धित समाचार