झापामा मात्र ४ हजार महिला स्वरोजगार



दमक । छोटो समयको तालिम र सानो पुँजीले पनि स्वरोजगार बन्न सकिने पेशाको रुपमा स्थापित भएको सौन्दर्यकला व्यवसाय। ‘व्युटी पार्लर’ व्यवसायको रुपमा चिनिएको यस क्षेत्रमा झापामा मात्र ४ हजार महिला स्वरोजगार बनेका छन् भने २ हजार भन्दा बढी पार्लरहरू सञ्चालनमा छन्।

सामान्यतया एउटा पार्लरमा दुई तथा सो भन्दा बढीले रोजगारी पाउने भएकाले ४ हजार भन्दा बढीलेनै सौन्दर्यकला व्यवसाय मात्र रोजगारी पाएको संघको भनाई छ।सौन्दर्यकला व्यवसायी संघ झापाका अनुसार झापाका २ हजार भन्दा ‘व्युटी पार्लर’ सञ्चालन गरी महिला यो पेसामा व्यावसायिक रुपमा आबद्ध भएका छन्। सीप सिकेर व्यवसाय सुरु नगरेका महिलाको संख्या अझै बढीरहेको संघको भनाइ छ। संघकी जिल्ला सचिव जानुका न्यौपानेका अनुसार जिल्लाका दमक, बिर्तामोड, काँकडभिट्टा, भद्रपुर लगायतका स्थानमा सौन्दर्यकला व्यवसाय रोजेका महिलाको संख्या उच्च छ।

यीबाहेक गौरादह, गौरीगञ्ज, सुरुंगा जस्ता भर्खरै शहरीकरण हुँदै गएका स्थानमा पनि यो व्यवसाय प्रतिको आकर्षण उच्च छ। ‘अन्य रोजगारीका अवसर नपाएपछि महिला घरमा त्यसै बस्नु पर्ने अवस्था थियो, खेती गर्ने ठाउँ पनि सबैको हुँदैन, शहरी क्षेत्रमा घरमा एक्लै बस्नु पर्दा त महिलालाई झनै गाह्रो थियो,’ उनले भनिन्, ‘तर तीन वा छ महिनाको तालिमपछि यसरी बेरोजगार बसेका धेरै दिदीबहिनीले आफैँ पेसा थाल्नु भएको छ ।

’ संघकी जिल्ला कोषाध्यक्ष रमा लिम्बू सौन्दर्य कला व्यवसायले स्वरोजगार बनाएसँगै महिलाको आत्मसम्मान र स्वाभिमानमा पनि वृद्धि गराएको बताउँछिन्। आफैँ व्यवसाय सञ्चालन गरेपछि महिलामा आर्थिक पहुँच बढेको र अरुमा निर्भर रहनुपर्ने बाध्यताको पनि अन्त्य भएको उनले बताइन्।

व्यवसायमा आबद्ध भए पछि यसैको माध्यमबाट महिला अन्य सामाजिक काममा समेत अग्रसर हुने र व्यक्तित्व तथा नेतृत्व विकासको अवसरसमेत पाउने गरेको उनी बताउँछिन्। २० वर्षदेखि यो पेसामा आबद्ध उनी सौन्दर्यकला व्यवसाय महिलालाई स्वरोजगार बनाउन सबैभन्दा प्रभावकारी क्षेत्र भएको पनि तर्क गर्छिन्।

सम्बन्धित समाचार