प्रदेश १ का तीन जिल्लामा चार दिनदेखि एनटिसीको सेवा अवरुद्ध



ओखलढुंगा । ओखलढुंगासहित तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध भएको छ। बुधबार राति १२ बजेबाट ओखलढुंग, सोलुखुम्बु र खोटाङमा नेपाल टेलिकमको मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो। उदयपुरको चित्रेमा रहेको टावरमा जडान गरिएको रेडियो लिंकको छाता हावाहुरीले अन्यन्त्र बंग्याएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम ओखलढुंगाका प्रमुख बच्चुराम खतिवडाले जानकारी दिए।

राजविराजमा रहेको टावरसँग लिंक गराएर चित्रे टावरमार्फत सेवा प्रवाह गरिएको छातालाई हावाहुरीले बंग्याएको र मर्मत गर्नका लागि प्राविधिकहरू चित्रे टावरमा पुगिसके पनि काम अझै मर्मत पूरा नभएको उनले बताए। शुक्रबार प्रविधिकहरूले केही काम गर्न नसकेको शनिबार पनि बिहानैदेखि टावरमा मान्छे भए पनि हावाहुरी चल्ने क्रम नरोकिएकाले टावरमा चढेर मर्मत गर्न नसकिएको उनको भनाइ छ। टेलिकमको सेवा अवरुद्ध भएपछि जिल्लामा व्यापार-व्यवसायमा समेत असर पुगेको उद्योग वाणिज्य संघ ओखलढुंगाका कार्यालय सचिव नवराज दाहालले बताए।

सबै काम टेलिफोन तथा इन्टरनेटमार्फत गरिन्छ तर टेलिकमको सबै सेवा अवरुद्ध भएपछि काममा अवरोध पुगेको उनको भनाइ छ। टेलिकमको सबै सेवा अवरुद्ध भएपछि तीन जिल्लाका सेवाग्राही अहिले सञ्चारविहीन बनेका छन्। टेलिकमको सेवा अवरुद्ध भएपछि अहिले तीनै जिल्लाका सेवाग्राही निजी दूर सञ्चार सेवा प्रदायक एनसेल मोबाइल प्रयोग गर्न बाध्य बनेका छन्।

टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चालित सञ्चारमाध्यम, बैंक तथा वित्तीय संस्था, व्यापार–व्यवसाय लगायतमा ठूलो असर पुगेको छ। जिल्लामा सञ्चालित अधिकांश बैंक तथा वित्तीय संस्थाले टेलिकमको एडिएसएल सेवा जडान गरेकाले अवरुद्ध हुँदा सेवा ठप्प भएको छ।

सम्बन्धित समाचार