पूर्वकर्मचारीले गरे आत्महत्या



उदयपुर ।  एकजना पूर्वकर्मचारीले आफू ठूलो भ्रष्टाचारी नभएको भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेका छन्।  त्रियुगा नगरपालिका-१० का ५५ वर्षीय पूर्वनायव सुब्बा हरिप्रसाद आर्चायले अख्तियार प्रमुखको नाममा दुई पानाको सुसाइड नोट लेखी आत्महत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सुसाइड नोटमा अख्तियार प्रमुख नवीनकुमार घिमिरेको नाम उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीका अनुसार आचार्यले झुण्डिएर आत्महत्या गरेका हुन। ‘हामी सुसाइड नोटको फोटो खिच्न दिदैनौं,’ उनले भने, ‘अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस, म ठुलो भ्रष्टाचारी होइन’, लेखिएको सुसाइड नोट फेला परेको छ।’ मालपोत कार्यालय कलंकींमा रहँदा भ्रष्टचार मुद्दा लागेपछि आचार्यले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।  ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस् भनेर सुसाइड नोट लेखीएको छ,’

डिएसपी केसीले भने, ‘अलिअलि मानसिक सन्तुलन ठीक नभएको पाएका छौँ।’ आचार्यले पूर्वगाविस सचिव, जिल्ला अस्पताल उदयपुर हुँदै जिल्ला जनस्वास्थ्य कार्यालय झापामा पनि काम गरेका थिए। झापाबाट मालपोत कार्यालय काठमाडौं कलंकी हुँदै उनी कर्मचारी समायोजनका क्रममा उदयपुरको त्रियुगा नगरपालिका आइपुगेका थिए।  त्रियुगा नगरपालिका वडा नम्बर ४ को वडा सचिवका रूपमा काम गरेका आचार्यले वडाअध्यक्षसँग विवाद भएपछि राजीनामा दिएको वडा कार्यालयको भनाइ छ।  मालपोत कार्यालय कलंकीमा रहँदा उनीसहित सातजनालाई सामुदायिक वनको जग्गा गैरकानुनी रूपमा सुयल हाउजिङ कम्पनीका नाममा श्रेस्ता खडा गरी पूर्जासमेत उपलब्ध गराएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। यस्तो छ, सुसाइड नोट ‘मेरो नाममा पुराण लगाउने काम नगर्नु, नउक्साउनु, मलाई सबैले नराम्रो देख्लान्। तर, पारिवारिक वातावरण मिलाउन सकिनँ। कामबाट चोखिने काम मात्र गर्नु, मैले काम गर्दा भएको गल्ती हो। गल्ती स्वीकार गरी नेपाल सरकारलाई बताइसकेको थिएँ। ममीले छोराहरूसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नु। म विदा भएँ। खातामा पैसा छ। श्रीमती केही जान्दिन।

साथीभाइले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु।’ ‘कान्छो छोराको ब्याचलर सकेको हेरुलाँ भनेको थिएँ, सकिनँ, पापी भएँ। वाणिज्य बैंक, नेपाल बैंक, एनसिसी बैंक, एनआइसी बैंकमा के कति पैसा छ, चेक दराज भित्र सानो ब्यागमा छ। अन्यमा पैसा भए पनि कमै छ,’ त्यसअघि उनले लेखेका छन, ‘वीरेन्द्र काकालगायत छिमेकीले भैंसी, खसी तह लगाइदिनु। आमा, साहिँली बुहारी र भतिजाले सुरक्षा गर्नु।’  ‘सतिले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन। तर म देशको ठूलो भ्रष्टचारी भएँ’, प्रहरीका अनुसार मृतक आर्चायको सुसाइड नोटमा अगाडि लेखिएको छ, ‘अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस। मजस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाइ काठमाडौंले सहयोग गर्नु। सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाडौं बस्नु। गोमाले रंंगिन लुगा लगाउनु, १३ औँ दिनमा सबै फुकाउनु।’

नेपाल निजामती कर्मचारी संगठन उयपुरका पूर्वकोषाध्यक्षसमेत रहेका आचार्यले लेखेका छन्, ‘संगठनका साथीहरूले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनु होला।’ २५ गते बेलुका ६ बजे सुसाइड नोट लेखी घरबाट बाहिरिएका आचार्यले अन्तमा लेखेका छन्, ‘आफन्तले भैंसी, खसी जतिमा हुन्छ त्यतिमा बिक्री गरी सहयोग गरिदिन आग्रह गर्दछु’, भनेका छन्।

सम्बन्धित समाचार