मन्त्रीले छोरीलाई मन्त्रालयमा सहायक कम्प्युटर अपरेटर राखे



सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले आफ्नै छोरीलाई मन्त्रालयमा सहायक कम्प्युटर अपरेटर राखेका छन्। स्वीकृत दरवन्दी नभएपनि मापदण्ड विपरित करारमा मन्त्री बोहराले आफ्नै छोरी राधिका बोहरालाई सहायक कम्प्युटर अपरेटरमा भर्ना गरेका हुन्।

मन्त्रालयहरुले कम्प्युटर अपरेटर, सवारी चालक र कार्यालय सहयोगी करारमा राख्न पाउने मापदण्ड भएपनि त्यस्का लागि स्वीकृत दरबन्दी भने आवश्यक हुन्छ। श्रोतक अनुसार मन्त्रालयमा स्वीकृत दरबन्दी नभएपनि मन्त्रीले आफ्नै छोरीलाई भर्ना गरेका हुन्।

बार्षिक आम्दानी पाँच लाख भन्दा कम भए सोझै करारमा राख्न पनि नियम रहेको छ भने पाँच लाख भन्दा बढि आम्दानी भए मेनपावर कम्पनी वा खुल्ला सुचनाबाट करारमा कर्मचारी भर्ना गर्न पाउने नियम रहेको छ। मन्त्री बोहराकी छोरी र एक जना कार्यालय सहयोगीलाई भने सोझै करारमा भर्ना गरिएको मन्त्रालय श्रोतले जनाएको छ।

यता भौतिक पूर्वाधार विकास मन्त्री बोहराले भने सहायक कम्प्युटर अपरेटरका लागि आवश्यक सबै योग्यता पुगेकाले छोरीलाई भर्ना गरिएको बताए। ‘छोरी भएर उनलाई भर्ना गरिएको होईन,’ मन्त्री बोहराले भने, ‘मन्त्रालयमा सहायक कम्प्युटर अपरेटरको आवश्यकता थियो, त्यो योग्यता उनीमा भएकोले जागिर दिईएको हो।’

सम्बन्धित समाचार