स्वरूप परिवर्तन गरेर आकर्षित पार्न प्लास्टिकका क्लिप र विषादी प्रयोगले रुद्राक्ष व्यवसायी चिन्तित



संखुवासभा । चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेपछि त्यहाँका व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन् ।

चिनियाँ बजारमा यसको माग बढेपछि व्यापारी संखुवासभा र भोजपुरका गाउँगाउँमा रुद्राक्ष खरिद गर्न पुग्ने गरेका हुन् । कतिपय बगानमा चिनियाँ व्यापारीे रुद्राक्षको स्वरूप परिवर्तन गरेर आकर्षित पार्न प्लास्टिकका क्लिपसमेत लगाएका छन् ।

बितेका तीन वर्ष अघिसम्म थोरै माग हुने भएकाले चिनियाँ व्यापारी काठमाडौंसम्म मात्र आउने गर्थे । विगत दुई वर्षदेखि ठूलो संख्यामा चिनियाँ व्यापारी गाउँगाउँमा पुगेको स्थानीयवासी बताउँछन् ।

चीनमा सजावट र श्रृंगारिक गहनाका रूपमा रुद्राक्ष प्रयोग गर्ने गरिएको छ । व्यापारीले किसानको बोटबाट नै मोलमोलाई गर्ने गरेका छन् । पूर्वीपहाडी जिल्लामध्ये संखुवासभामा रुद्राक्ष अत्यधिक उत्पादन हुने गर्छ ।

त्यसपछि भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, इलामसँगै सुनसरीको पहाडी क्षेत्रमा पनि रुद्राक्षको व्यावसायिक खेती हुने गर्छ । संखुवासभा र भोजपुरको राम्रो नगदेबालीका रुपमा रुद्राक्ष रहेको छ । ठाउँअनुसार हावापानी फरक हुनाले रुद्राक्ष उत्पादन हुने सिजन पनि फरक छ ।

पछिल्लो समय रुद्राक्षको बोटमा क्लिप तथा विषादी प्रयोग गर्ने क्रम बढेपछि यसको व्यवसाय नै संकटमा पर्न सक्ने देखिएपछि किसानहरु चिन्तित भएका छन् । रुद्राक्षलाई कृत्रिम बनाउन अहिले बगानै ठेक्का लिएर रुद्राक्षको बोटमा विषादी हालेर अप्राकृतिक बनाउन थालिएको हो ।

विषादी र मेसिन प्रयोग गरेर रुद्राक्षको कृत्रिम आकार बनाउँदा पनि सम्बन्धित निकाय भने बेखबर देखिएको छ । रुद्राक्षको कृत्रिम उत्पादन गर्दा समस्या भएको भन्दै स्थानीय व्यापारी र कृषकहरु चिन्तित छन् ।

चिनियाँ व्यापारीले रुद्राक्षलाई आवश्यकताअनुसार क्लिप प्रयोग गरेर थेप्चे, कण्ठे, चिल्लो, मदाने र आकारका दानाहरु उत्पादन गरिरहेका छन् । व्यापारका लागि चिनियाँहरुले दुई वर्षअघिदेखि बोटमै विषादी र क्लिप प्रयोग गरेर कृत्रिम आकार बनाई बेच्ने गरेका छन् ।

चिनियाँ व्यापारी रुद्राक्षको व्यापार गर्न आठ वर्षअघि सङ्खुवासभा र भोजपुरका विभिन्न क्षेत्रका गाउँबस्तीमा बस्ने गरेका देखिन्छ । दुई वर्षदेखि कृषकका रुद्राक्ष बगान ठेक्का लिएर व्यापारीहरुले जथाभावी क्लिपबाट कृत्रिम दाना उत्पादन गरेको भन्दै केही स्थानमा प्रशासनले रोक लगाए छ ।

तर अझै रुद्राक्षलाई कृत्रिम बनाउने काम भने रोकिएको छैन । व्यापारीले विषादी र क्लिपको सहायताले कृत्रिम दाना उत्पादन गरेका रुद्राक्षले यसको महत्व घट्दै गएको भन्दै कृषकहरु चिन्तित भएका छन् ।

कृत्रिम उत्पादनले रुद्राक्ष बिक्रीमा समस्या हुन थालेको चैनपुर–६ का टीकादत्त गौतमले दुखेसो पोखे । चिनियाँ व्यापारीले यस वर्ष रुद्राक्षको चिचिलै अवस्थामा बोटमै विषादी छर्किएर राम्रा दाना उत्पादन गर्न लागिपरेका छन् ।

चिनियाँ व्यापारीले गत वर्ष सङ्खुवासभाको चैनपुर–११ लोहाकोटमा १५ लाख रुपैयाँको ठेक्कामा लिइएको रुद्राक्षमा विषादी प्रयोग गरिएको रहस्यसमेत खुलेको छ । विषादी प्रयोग गरिएको रुद्राक्ष चिल्लो हुने भए पनि एक महीना नबित्दै त्यसको रङ खुइलिने, हलुका हुने र कालो देखिने समस्या देखिएको छ । त्यसले बहुमूल्य रुद्राक्षसमेत बिक्री गर्न समस्या भएको रुद्राक्ष व्यवसायी सङ्घका अध्यक्ष चक्र बिसुन्खेले जानकारी दिए ।

सम्बन्धित समाचार