मोटरसाइकल चोरलाई भगाउन लाग्दा प्रहरीले हवाई फायर गरे



जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका-५ मा मोटरसाइकल चोर समात्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ। चोरीको मोटरसाइकल खदिर बिक्री भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट एक सादा पोशाकका प्रहरी मुखियापट्टी मुसहर्निया पुगेका थिए। सूचनाअनुसार मोटरसाइकल चोरलाई समातेपछि स्थानीयले विवाद खडा गरी भगाउन लाग्दा प्रहरीले हवाई फायर गरेको हो।

धनुषाका एसपी शेखर खनालले पक्राउ गरिएको चोरलाई भगाउन स्थानीयले प्रहरीमाथि हातपातमै उत्रेपछि बाध्य भएर दुई राउण्ड हवाई फायर गरेको जानकारी दिए। उनले हवाई फायर गर्दा स्थिति नियन्त्रणमा आए पनि स्थानीयले चोरलाई मोटरसाइकलसहित भगाएको बताए। चोरको पहिचान खुल्न नसकेको उनको भनाइ छ। फरार भएको चोरको र भगाउने व्यक्तिहरूको खोजी भइरहेको एसपी खनालले बताए। ‘जिल्लाबाट प्रहरी निरीक्षकको कमाण्डमा थप प्रहरी घटनास्थल पुगेको छ।

चोर र भगाउने व्यक्तिहरूको पनि खोजी जारी छ’ उनले भने। प्रहरी र स्थानीयबीच सामान्य झडप समेत भएको छ। प्रहरीले हवाई फायर गर्दा भागाभाग मच्चिएको थियो। अहिले चोरलाई भगाउने व्यक्ति गाउँ छाडेर अन्यत्र भागेका छन्। अहिले गाउँमा ठूलो संख्यामा प्रहरी परिचालन भएको छ।

सम्बन्धित समाचार