स्वास्थ्य चौकीको डिफ्रिज स्वास्थ्य चौकी इञ्चार्जले बेचेको पाइयो



पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-२ इम्बुङमा रहेको स्वास्थ्य चौकीमा गाउँपालिकाले दिएको डिफ्रिज तत्कालीन स्वास्थ्य चौकी इञ्चार्जले बेचेको पाइएको छ। थाहाखबरकर्मीलाई नाम नबताउने शर्तमा एक स्थानीयले सूचना दिएपछि पुष्टिको आधार खोजी गर्ने क्रममा तत्कालीन स्वास्थ्य चौकी इञ्चार्ज चन्द्रसिं कार्कीले स्थानीय रुपनारायण नेम्बाङलाई डिफ्रिज बेचेको पाइएको हो।

डिफ्रिज किनेका रूपनारायणको गाउँमै डेरी उद्योग छ। उनले डिफ्रिज ४५ हजारमा किनेको स्वीकारेका छन्। ‘स्वास्थ्य चौकी इञ्चार्ज र वडाध्यक्ष आएर तपाईंलाई काम दिन्छ। राख्नुहोस् भन्नुभो। मैले किनेर राखेको छु’ उनले भने। उनले ५० हजार दिए डिफ्रिज फिर्ता गर्ने पनि बताए। केही महिनाअगाडि सरुवा भएर गृहजिल्ला हुम्ला पुगेका कार्कीलाई ‘किन बेच्नु भयो डिफ्रिज?’ भन्दा स्वास्थ्य चौकीमा ल्याब राखिँदा पूरै सामग्री नभएपछि सापटीस्वरूप आफूले २० हजार ७०० रुपैयाँ लगाएर आवश्यक सामग्री खरिद गरेको भन्दै सरुवा भएर जाने बेलामा उक्त रकम उठाएको भन्ने आशय व्यक्त गरे।

यससँगै उनले स्वास्थ्य चौकीको लेखा परीक्षण गराएको र ल्याबको सामानको बिलसहित करिब ७ हजार रुपैयाँ पनि छोडेको बताए। इम्बुङ स्वास्थ्य चौकीमा भ्याक्सिनलगायतका औषधि राख्न फ्रीज अभाव नरहेको समेत उनले बताए। ‘स्वास्थ्य चौकीमा फ्रिज छ। नभएको होइन। तर गाउँपालिकाले दियो। फेरि ठूलो छ’ उनले भने, ‘ट्रयाक्टरमा ल्याएर आउँदा कुच्चिएको छ।

मासु पसल र डेरीमा राख्न मिल्ने छ।’  इञ्चार्ज कार्कीको सरुवा भएपछि स्वास्थ्य चौकीको निमित्त इञ्चार्जको जिम्मेवारी स्वास्थ्यकर्मी नीरमायाँ नेम्बाङले पाएपछि गैरकानुनी रुपमा नेम्वाङलाई प्राप्त जिम्मेवारी खोसेको बताइएकी अर्की स्वास्थ्यकर्मी इन्दिरा भट्टराईले गाउँपालिकालाई बोधार्थ दिँदै जिल्ला प्रशासन कार्यालयमा पनि डिफ्रिज खोजीका लागि निवेदन दिएकी छन्।

आफूमाथि डिफ्रिज हराएको सवाल जोडिन सक्ने भएकोले उनले फ्रिज खोजी गरिदिन निवेदन दिनु परेकी बताइन्। वडाध्यक्ष बहादुर सिं नेम्बाङले डिफ्रिज चाँडै फिर्ता गराइने बताएका छन्।

सम्बन्धित समाचार