अनेरास्ववियुका संयोजक प्रहरीको कुटाइबाट घाइते



काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा सम्वद्ध अनेरास्ववियुका संयोजक ऐन महर प्रहरीको कुटाइबाट घाइते भएका छन् । महरको खुट्टा ‘फ्याक्चर’ भएको सो संगठनका नेता आरसी लामिछानेले बताए ।

नर्भिक अस्पतालमा उपचार गराएर अहिले उनी घरमै आराम गरिरहेको लामिछानेले जानकारी दिए । उनका अनुसार चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) मा आन्दोलतरत अखिलका विद्यार्थीलाई पक्राउ गरेर प्रहरीले पूरानो महेन्द्र पुलिस क्लबमा राखेपछि महर उनीहरुलाई भेट्न दलबलसहित त्यहाँ पुगेका थिए । तर, कार्यालयको गेटमा बसेका प्रहरीले महर टोलीलाई भित्र पस्न दिएन ।

करिब २० वटा मोटरसाइकलमा गएको महर समूहले प्रहरी कार्यालयको गेट अगाडि चर्को आवाजमा हर्न बजाएपछि प्रहरीले त्यसो नगर्न भनेको र सोही क्रममा विवाद भएपछि स्थिति असामान्य बनेको प्रहरीका एक अधिकारीले जानकारी दिए । महरले आफू अनेरास्ववियुको अध्यक्ष भन्दै परिचय दिएका थिए ।

उनले आफू प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई टेलिफोन गरेर आएकाले भित्र जान दिन आग्रह गरेका थिए । तर, प्रहरीले माथिबाट आदेश नआएको भन्दै छेके । त्यसपछि महर टोली र प्रहरीबीच केहीबेर भनाभन भयो । त्यत्तिकैमा भित्रबाट एक हुल प्रहरी आएर अन्दाधुन्द लाठी चार्ज गरे । महरको खुट्टामा गहिरो चोट लागेको छ ।

सम्बन्धित समाचार