गौहत्याको घटनामा संलग्न प्रहरी निरीक्षकसहित दुईजना पक्राउ



सुर्खेत । सुर्खेतमा भएको गौहत्या प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

सुर्खेत प्रहरीले गौहत्याको घटनामा संलग्न रहेको भन्दै प्रहरी निरीक्षकसहित दुईजनालाई पक्राउ गरेको हो । बाँके प्रहरीको सहयोगमा उनीहरुलाई नेपालगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विक्की भनिने सत्रिप्तसिंह श्रेष्ठलाई पक्राउ गरिएको हो । उनीहरु दुबैलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको सुर्खेतका एसपी बसन्त रजौरेले जानकारी दिए ।

यही भदौ १२ गते नेपालगञ्ज उपमहानगरले दैलेख लैजाने भन्दै पठाइएका दुई सय ९१ वटा गाई–गोरु सुर्खेतमा भीरबाट खसालिएका थिए । भीरबाट खसालिएका कारण हालसम्म ४० वटा गाई मरेका छन् । यस्तै दर्जनौं गाई–गोरु घाइते भएका थिए । सोही घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका बोगटीको नेतृत्वमा नेपालगञ्ज नगर प्रहरीको टोलीले आठ वटा ट्रकमा छाडा गाई सुर्खेतमा ल्याएर अलपत्र छाडेको प्रहरीको भनाइ छ । यस्तै गाई ढुवानीमा संलग्न रहेको भन्दै चितवन ट्रान्सपोर्टका सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको हो ।

उनीहरु दुबैमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गौहत्या प्रकरणमा यसअघि सातजना पक्राउ परिसकेका छन् । गाई लोड गरिएका पाँचवटा ट्रक र तिनका चालक र सहचालक गरी सातजनालाई यसअघि नै पक्राउ गरिएको थियो ।

अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको देखिएकाले प्रहरी निरीक्षक बोगटी र ट्रान्सपोर्टका सञ्चालक श्रेष्ठलाई बिहीवार नेपालगञ्जबाट नियन्त्रणमा लिइएको एसपी रजौरेले बताए ।

सम्बन्धित समाचार