रविको रिहा बिरुद परेको सरकारी निवेदनको आज बहस हुँदै



काठमाडौं । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेका लागि नयाँ चुनौती तेर्सिएको छ । शालिग्राम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्यामा पक्राउ परेका उनलाई धरौटीमा रिहा गर्ने चितवन जिल्ला अदालतको आदेश बदरको माग गर्दै उच्च अदालत हेटौंडामा निवेदन परेको छ । सरकारका तर्फबाट परेको निवेदनबारे आजबाट बहस हुँदैछ ।

निवेदनको पक्षमा फैसला भए रवि लामिछाने पुर्पक्षका लागि थुनामा जानसक्छन् । त्यस अवस्थामा उनी चितवन जिल्ला कारागारमा बन्दी बन्ने अवस्था हुनसक्छ । रविको पक्षमा फैसला भए जिल्ला अदालतको आदेश कायमै भएर उनी अहिले जस्तै बाहिर सक्रिय रहेर काम गर्न सक्छन् । तर, मुद्याको अन्तिम टुंगो नलागेसम्म उनले मुद्यासँग सम्बन्धित विषयमा बोल्न नपाउने आदेश पालना गर्नुपर्ने हुन्छ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनको मुद्दामा धरौटीमा रिहा भएका टेलिभिजन प्रस्तोता रवि लामिछानेमाथि सहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने निवेदन सरकारी वकिल कार्यालयबाट दर्ता भएको हो । उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले जिल्ला अदालत चितवनको फैसला उल्टाउन सोमबार निवेदन दर्ता गरेको हो ।

शालिकराम पुडासैनीको चितवनस्थित कंगारु होटलमा रहस्यमयी निधनपछि अनुसन्धानका क्रममा प्रहरीले आत्महत्याको दुरुत्साहन गरेको भन्दै लामिछानेसहित तीनजनालाई पक्राउ गरेको थियो । लामिछाने पक्राउपछि उनलाई छुटाउन सडकमा प्रदर्शनहरु समेत भएका थिए । जिल्ला अदालतले पाँच लाख धरौटीमा रिहा गरेपछि लामिछाने काठमाडौं फर्किएर नियमित कार्यक्रम संचालन गर्दै आएका छन् । उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले थुनामा राख्न निवेदन दिएसँगै पुडासैनी आत्महत्या घटनाको अदालती कारबाही कठिन र लामो हुने छाँट देखिएको छ ।

सम्बन्धित समाचार