सामाजिक उत्तरदायित्व बहन गर्दै मिसन आईटीः कम्प्युटर शिक्षामा ४० जनालाई छात्रबृत्ति (नामावली सहित)




खाँदबारी । सनिबारको दिन, प्राय सुनसान हुने खाँदबारी नगरपालिकाको सभाहलमा खचाखच युवा युवतीहरु थिए । उनीहरु कुनै कन्सर्ट हेर्न वा मेला भर्न आएका थिएनन् । मिसन आईटी सोलुसनले दिने कम्प्युटर शिक्षाको छात्रबृत्ति फारम भरेका थिए र गोलाप्रथा गर्ने दिन भएकोले उनीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

करिब एक बज्दा निम्तालु अतिथीहरु सवै आईपुगे र औपचारिक कार्यक्रम सुरु भयो । अरु बेला झै सभाध्यक्ष, प्रमुख अतिथी, विशिष्ट अतिथी, अन्य अतिथीहरुलाई क्रमस आसन ग्रहण गराईयो । मिसन आईटी सोलुसन प्रा.लि.का प्रबन्धक गंगा चौलागाईको अध्यक्षतामा आयोजित कार्यक्रममा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष कृष्णभगत प्रधान प्रमुख अतिथी रहेका थिए । बरुण बहुमुखि क्याम्पसको सहायक क्याम्पस प्रमुख चित्ररेखा अधिकारी, ब्याब्सन संखुवासभाका अध्यक्ष छिरिल भोटे लगायतका शिक्षा क्षेत्रका ब्यक्तित्वहरु र वित्तिय संस्थाका पदाधीकारीहरु पनि थिए ।

यो कार्यक्रम मिसन आईटी सोलुसनको पाँचौ बार्षिक उत्सवको कार्यक्रम थियो । यहि कार्यक्रममा चिट्ठा सिष्टमबाट फारम भरेकाहरुबाट ४० जनाको नाम तान्नु पर्ने थियो । विभिन्न विद्यालयका ६ सय ५० विद्यार्थीहरुले निशुल्क बेसिक डिप्लोमा पढ्नको लागि फारम भरेका रहेछन् । चिट्ठाबाट ४० जनाको नाम छानिएपछि बाँकी रहेको ६ सय १० जनाले पनि ५० प्रतिशत छुटमा पढ्न पाउने घोषणा गरिएको थियो ।

विचविचमा स्थानीय कलाकारहरुको नृत्य र गायनले खचाखच भरिएको सभाहलमा रौनकता थपिएको थियो । कार्यक्रमका अतिथीहरुले शुभकामना मन्तब्य त दिनै पर्यो, सवैले मिसन आईटीलाई शुभकामना दिए । र अहिलेसम्म निजि क्षेत्रबाट यत्तिका धेरै संख्यामा कसैले पनि छात्रबृत्ति नदिएको दावी गरे । ४० जनाको कोटामा झण्डै ७ सय विद्यार्थीहरुले फारम भर्नु चानचुने नरहेको भन्दै ४० बाहेककालाई पनि अझ सोलियत दिएर मनोबल बढाउने काममा लाग्न अनुरोध समेत गरे । कार्यक्रममा आईटी सोलुसनका प्रबन्धक चौलागाईले प्रगति प्रतिवेदन प्रस्तुत गरे । चार बर्ष पुरा गरेको यस कम्पनीले पहिलो बर्ष २ सय ८५, दोश्रो बर्ष ५ सय २२, तेश्रो बर्ष ७ सय ५५ र चौथो बर्ष ८ सय ३३ जना गरि हालसम्म २ हजार ३ सय ८५ जनाले अध्यापन गरिसकेको तथ्यांक प्रस्तुत गरे । यसरी मिसन आईटीमा कम्प्युटर सिक्नेहरु हरेक क्षेत्रमा रोजगारी पाएको समेत तथ्यांक सहित दावी गरे । यस अघि अतिथीहरुले गरेको आग्रहलाई पुर्नविचार गर्दै प्रबन्धक चौलागाईले ५० प्रतिशत छुटलाई पुनः १० प्रतिशत बढाएर ६० प्रतिशत छुट दिने घोषणा गरे । उनको यो घोषणालाई गडगडाहट तालीले स्वागत गरियो । बेसिक र डिप्लोमा गरि ६ महिनाको कोर्ष पुरा गर्न प्रतिब्यक्ति १७ हजार रुपैयाँ लाग्ने गरेकोेमा उक्त छुट रकमबाहेक एक पैसा पनि नलिने घोषणा समेत गरे ।

छात्रबृत्तिको लागि फारम भरेकाहरुको अर्धकट्टीको डल्लो बनाईएको कागजका टुक्राहरु प्लाष्टिकका बट्टामा थिए । अव गोला प्रथा गर्ने बेला भयो । जसको लागि अतिथीहरुलाई आग्रह गरियो । प्रमुख अतिथी प्रधानले मज्जाले हल्लाए र एकपछि अर्को गरेर टिपीयो । चिट्ठामा पर्नेहरुको हल्ला र हुटिंले हल गुञ्जायमान थियो । विचविचमा ब्रेक लिँदै तीन चरणमा गरेर अन्तत ४० जनाका नाम तयार भयो । चिट्ठामा नाम आएकाहरु फोटो सेसनको लागि बसे, नपरेकाहरु सायदै अलि मन खिन्न बनाएर फर्के ।

निजि क्षेत्रबाट सामाजिक क्षेत्रमा लगानी गर्नेहरु धेरै छन् । यद्धपी कार्यक्रम गर्ने शैली र तरिका भने यो नौलो नै थियो । मिसन आईटी सोलुसनले यस अघिदेखि नै साना तर अत्यावश्यक ठाउँमा सहयोग गरेर सामाजिक उत्तरदायित्व बहन गर्दै आएको छ । आगामी बर्षपनि छात्रबृत्तिको संख्या बढाएर छात्रबृत्ति प्रदान गर्ने योजना रहेको प्रबन्धक चौलागाईले जानकारी दिए ।

फोटोः भविन कार्की

छात्रबृत्तिका लागि छनौट भएकाहरुको नामावली

सम्बन्धित समाचार