पर्वमा धारिलो हतियार तरबार प्रदर्शन पाँचजना घाइते



विराटनगर । मुस्लिम समुदायको मोहर्रम पर्वमा धारिलो हतियार तरबार प्रदर्शन गर्ने क्रममा सोमबार राति विराटनगरमा पाँचजना घाइते भएका छन्।

विराटनगर महानगरपालिका-९ घोघा पुलचोकमा पर्व मनाउने क्रममा हतियार प्रदर्शन गर्दा र एकअर्कामा तरबार जुधाउँदा राति ११ बजे युवा घाइते भएका हुन्। घाइते हुनेमा विराटनगर-९ का १९ वर्षीय रजक खान, मोहम्मद अजाद, विराटनगर-८ का १८ वर्षीय मोहम्मद राज, २१ वर्षीय मोहम्मद मसिम र २२ वर्षीय मोहम्मद अस्लम रहेका छन्।

टाउको, चिउँडोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारबाट चोट लागेका उनीहरुलाई उपचारका लागि कोसी अस्पतालमा भर्ना गरिएको थियो।

घटनाका बारेमा प्रहरीमा कुनै जाहेरी वा उजुरी भने परेको छैन। प्रहरीले कोही कसैलाई पक्राउ गरेको छैन। हतियार प्रदर्शन गरेर पर्व मनाउने क्रममा युवा घाइते हुन थालेपछि कार्यक्रम भने बन्द भएको थियो।

मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले पर्व मनाउँदा तरबार प्रदर्शन गर्ने क्रममा केही युवा घाइते भए पनि घटनाको रेकर्ड प्रहरीमा नभएको बताए। ‘

धार्मिक मान्यताअनुसार पर्व मनाइएकाले पनि कुनै घटना भएमा प्रहरीमा उजुरी नपर्ने र प्रहरीले पनि यसलाई रोक्न सक्ने अवस्था नहुने श्रेष्ठले बताए। उनका अनुसार मुस्लिम युवाले पर्वका अवसरमा प्रत्येक वर्ष तरबार, खुँडा, भालालगायतका घरेलु हतियार लिएर ‘फाइटिङ स्कील’ प्रदर्शन गर्छन्। त्यही क्रममा चोट लागेर विराटनगरमा केही युवा घाइते हुन पुगेको जानकारी डीएसपी श्रेष्ठले दिए।

विशेष गरेर मोरङको मटेरुवा, बुधनगर, विराटनगरको घोगापुल चोक, रानीलगायतका ठाउँमा मोहर्रम पर्वमा वर्षेनी घरेलु हतियार प्रदर्शन गर्ने गरिन्छ। पर्वको नाम लिएर मुस्लिम युवाले खुलेआम हतियार प्रदर्शन गर्ने गर्दा जनजीवन भने आतंकित हुने गरेको छ।

एउटाले हतियार प्रहार गर्न खोज्ने र अर्कोले बचाउने क्षमता एवं कला प्रदर्शन गरिने गरिन्छ। मुस्लिम पात्रोअनुसार हिजरी संवत् १४४१ को मोहर्रम महिनाको १० तारिखमा यो पर्व धुमधाम मनाइन्छ।

सम्बन्धित समाचार