भोजपुरका धाविका मीरा राईलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान



नेपालमा उकालीओराली दौड खेल ‘ट्रेल रनिङ’को अन्तरराष्ट्रिय प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेकी भोजपुरका धाविका मीरा राईलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको छ ।

अमेरिकास्थित विश्वप्रसिद्ध विश्वविद्यालय प्रोभोस्ट वेस्टक्लिफ युनिभर्सिटीले धाविका राईलाई सो उपाधि प्रदान गरेको हो ।

यहाँस्थित प्रिसिडेन्टल विजनेस स्कुलद्वारा आज यहाँ आयोजित दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सो विश्वविद्यालयका प्रा डा  डेभिड मेकेनीले राईलाई संयुक्तरुपमा सो उपाधि प्रदान गरेका हुन् ।

‘मैले जीवनमा कति कोस दौडेँ, अझै कति दौडिनेछु । यो उपाधि पाउँला भन्ने सोचेको थिइन । उच्च शिक्षा अध्ययन गर्ने सपना सपना नै बन्यो । तर उपाधि पाएँ । योभन्दा अरु के खुशी  हुन सक्छ’, उपाधि पाइसकेपछि उनले भनिन् ।

‘जीवनदेखि हार मान्नु हुँदैन, केही गर्छु भन्ने आँट चाहिन्छ । म कक्षा ७ मा अध्ययन गर्दागर्दै विद्यालय छाड्नुपर्‍यो । जीवनदेखि हार नखाई अगाडि बढिरहेँ । ट्रेल अन्तरराष्ट्रिय प्रतियोगितामा दोस्रो स्थान भएँ । अझै केही गरुँ जस्तो लागिरहेको छ,’ उनले थपिन्।

सो अवसरमा उपराष्ट्रपति पुन र प्रा डा मेकेनीले अमेरिकाको सो विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेको त्यस स्कुलबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका ९५ छात्रछात्रा दीक्षित गराउँदै प्रमाणपत्र प्रदान गरे।

स्कुलका निर्देशक लक्ष्मण केसीले देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न आफ्नो स्कुलले पहिलो प्राथमिकता दिएको र आफ्ना उत्पादन बजारमा अब्बल रहेको दाबी गरे ।

युनिभर्सिटीका प्रा डा मेकेनीले बजारको आवश्यकता र मागअनुसार आफ्नो विश्वविद्यालयले पठनपाठन गरिरहेको चर्चा गर्दै नेपाली छात्रछात्राको अध्ययन उत्कृष्ट रहेको दाबी गरे ।

स्कुलका शैक्षिक कार्यक्रम निर्देशक कल्पना गुरुङले स्कुलमा सैद्धान्तिक तथा व्यावहारिक अध्ययन हुने बताए।

रेडियो संखुवासभाबाट

सम्बन्धित समाचार