ज्यूदो शिशुलाई मृत घोषणा प्रकरण : २४ घण्टापछि शिशुको मृत्यु



नेपालगन्ज । भेरी अस्पतालमा २३ हप्तामा ६ सय ग्राम तौलमा जन्मिएको शिशुको शनिबार बिहान ६ बजेतिर निधन भएको छ।

जाजरकोटको छेडागाड नगरपालिका ९ की २० वर्षीया कमला अधिकारीले जन्माएको शिशु जन्मँदै मृत्यु भएको भनेर अस्पतालले बुझाएपछि गाड्न लैजाँदै गर्दा शिशु जीवितै भएको थाहा भएको थियो। शिशुलाई एनआइसीयुमा राखेर उपचार गर्दै गर्दा २४ घण्टाभित्रै मृत्यु भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डन्ट डा.बद्री चापागाईंले  जानकारी दिए।

अस्पताल प्रशासनले घटनाको सत्यतथ्य छानबिन गर्नका लागि स्त्रीरोग विशेषज्ञ कल्पना थापाको संयोजकत्वमा शनिबार पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई एक हप्ताको म्याद दिइएको अस्पताल प्रशासनले जनाएको छ।

बच्चाको निधन भएपछि परिवारका सदस्यले अस्पताल प्रशासनमा केहीबेर विरोध प्रदर्शन गरेका थिए। अस्पताल र पीडित परिवारबीचको छलफलपछि किरिया खर्च वापत २५ हजार रुपैयाँ र अस्पतालले सुत्केरीलाई जाजरकोटस्थित घरसम्म पुर्‍याउने विषयमा सहमति भएको थियो।

सम्बन्धित समाचार