मन्त्री योगेश भट्टराईलाई विमानस्थलमा जहाजभित्र गालीगलौज



काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा केही युवाले जहाजभित्र गालीगलौज गरेका छन् । मन्त्री भट्टराईका कारण जहाज उड्न ढिलो भएको भन्दै उनीहरुले जहाजमा बसेका मन्त्री भट्टराईलाई गालीगलौज र हप्कीदप्की गरेका हुन् ।

राजावादी भनेर चिनिएका ज्ञानेन्द्र शाहीलगायत युवाले बुद्ध एयरको जहाजभित्र मन्त्रीलाई गाली गरेको भिडियो सामाजिक सञ्जालमा समेत राखेका छन् । नेपालगञ्जबाट काठमाण्डौ उड्न लागेको जहाजलाई मन्त्रीले एक घण्टासम्म कुराएको भन्दै उनीहरुले गालीगलौज गरेका हुन् ।

ज्ञानेन्द्र शाहीले ‘मन्त्री योगेश भटराईलाई आज नेपालगञ्ज एअरपोर्टमा रामधुलाई गरियो’ भन्दै फेसबुकमा स्टाटस समेत लेखेका छन् ।

मन्त्री भट्टराईले भने आफ्नो कारण जहाज १५ मिनेट मात्रै ढिलो भएको भन्दै यात्रुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्नुभएको छ । मन्त्री भट्टराई शनिबार डल्फिन महोत्सवको उद्घाटन गर्न कैलालीको धनगढी हुँदै टीकापुर जानुभएको थियो । शनिबार साँझ उहाँ नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरबाट काठमाण्डौ फर्कनुभएको छ ।

सम्बन्धित समाचार