स्कुलको सेप्‍टि ट्यांकमा एक व्यक्तिको शव सडेको अवस्थामा फेला



नवलपरासी ।  नवलपरासीमा स्कुलको सेप्‍टिक ट्यांकमा एक व्यक्तिको शव सडेको अवस्थामा फेला परेको छ। रामग्राम नगरपालिका–३ घोडपाली बस्ने ४१ वर्षिय रवीन्द्र पाण्डेको शव उनी बेपत्ता भएको १५ दिनपछि भेटिएको हो।

पाण्डेको खोजीमा रहेको प्रहरीले शंका लागेर हरि सुशील प्राविको सेप्‍टिक ट्यांकमा हेर्दा सडेको अवस्थामा भेटिएको हो। पाण्डेका परिवारले खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयमा निवदेन दिएका थिए।

हत्या भएको १५ दिनपछि उनको शव घर नजिकै रहेको हरि सुशील प्राविको सेप्‍टिक ट्यांकीमा शनिबार भेटिएको प्रहरीले जनाएको छ।

सेनाका हवल्दार समातिए

पाण्डेको हत्या आरोपमा नेपाली सेनाका हवल्दार पक्राउ परेका छन्। कालीध्वज गण परासीमा कार्यरत बमबहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। घर्ती र मृतक पाण्डेकी श्रीमतीको मिलेमतोमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

प्युठान घर भएका घर्तीलाई रामग्राम नगरपालिका–३ घोडपाली बस्ने ४१ वर्षिय ‘तारा’ भनिने रवीन्द्र पाण्डेको हत्या आरोपमा नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए। कालीध्वज गण परासीबाट उनलाई शुक्रबार साँझ पक्राउ गरिएको उनले बताए।

मृतक पाण्डेलाई निजकै श्रीमती ३५ वर्षीया सरस्वती पोखरेल (पाण्डे) र घर्ती मिलेर हत्या गरेको आरोप छ। प्रहरीले मृतक पाण्डेकी श्रीमती सरस्वतीलाई तीन दिन अघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

बयानका क्रममा घर्तीको पनि संलग्नता रहेको खुलेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक आचार्यले बताए।

सम्बन्धित समाचार