बाँझाखेतमा भेटिएको चितुवा उपचारका क्रममा मर्‍यो



पोखरा ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सार्दीखोलास्थित बाँझाखेतमा  भेटिएको चितुवा उपचारका क्रममा मरेको छ। पासोमा परेर घाइते भएको करिब ७ वर्षको भाले चितुवा उपचारका क्रममा मरेको हो।

कास्की जिल्लाको माछापुच्‍छ्रे  गाउँपालिका २ बाँझाखेतमा गत बिहीबार घाइते अवस्थामा चितुवा भेटिएको थियो। सिकारीले जंगली जनावर मार्न राखेको पासोमा लामो समयदेखि परेर फुत्कने क्रममा चितुवाको दायाँ खुट्टा र ढाडमा गहिरो चोट लागेको हुन सक्ने पशु चिकित्सकले बताएका छन्। संरक्षण क्षेत्रमा सिकार बढ्दै गएकाले प्रभावकारी अनुगमन हुनुपर्ने  संरक्षणकर्मीले बताउँदै आएका छन्।

घाइते चितुवाको थप उपचारका लागि चितवन राष्ट्रिय निकुञ्जमा लग्न  डाटिङ टोलीसहितको पशु चिकित्सक पोखरा आएका थिए। उपचारका क्रममा पोखरामै चितुवा मरेको हो।

गहिरो चोटलागेको चितुवा उपचारको क्रममा मरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका सूचना अधिकृत ऋषि बरालले जानकारी दिए। मृत चितुवालाई मुचुल्का गरि खाल्टो खनि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको केन्द्रीय कार्यालयको प्राङ्गणमा गाडिएको छ।

सम्बन्धित समाचार