शिक्षकको कुटाई बाट विद्यार्थी बिरामी, कुटपीट गर्ने शिक्षकलाई कारबाहीको माग



ओखलढुंगा । सिद्धिचरण नगरपालिका वडा नं. २ स्थित हिमालय माध्यमिक विद्यालयका शिक्षक चम्मु फुयलमाथि विद्यार्थी कुटपीट गरेको आरोप अभिभावकले लगाएका छन्। कक्षा ७ मा अध्ययनरत विद्यार्थी विनिता कार्कीलाई कुटपीट गरेको अभिभावकको आरोप छ।

बिनिताका हजुरबुबा दलबहादुर कार्कीले गृहकार्य नगरेको भन्दै शिक्षक फुयालले ०७६ असोज २ गते हातमा लौरोले कुटपीट गरेको आरोप लगाएका छन्। कुटपीटकै कारण आफ्नी नातिनी विनिता कार्की विरामी परि सामुदायिक अस्पताल ओखलढुंगामा उपचार भइरहेको कार्कीले बताए। असोज ३ गते छात्रा कार्कीलाई सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। उनी अपरिचतसँग नबोल्ने र रोइरहने गर्छिन्।

उता  विद्यार्थी कुटपीट गरेको विषयमा आरोपित शिक्षक चम्मु फुयालले गृहकार्य नगरेको विषयमा सम्झाउन हातमा एक सिर्किना हिर्काएको सिर्कनाले स्वीकार गरेको बताए। ‘उनीसहित अन्य विद्यार्थीहरुलाई पनि मैले त्यसरी सम्झाएको थिएँ, उनी दिनभर विद्यालयमै पढेर घर गएकी हुन्।’ घर गएपछि विरामी भएको उनको दाबी छ। घटनाबारे विद्यालयका प्रधानाध्यपक हरि भट्टराईले आफूकहाँ कुनै गुनासो नभएको बताए।

बाहिर सुनेपछि अस्पतालमा पुगेर विद्यार्थीको अवस्थाबारे जानकारी लिएको बताउँदै उहाँले ती विद्यार्थी यस अघिदेखि नै विरामी रहेको बताए। उनी विरामी नै थिइन्, शिक्षकको व्यवहारले मानसिक रुपमा असर चाँही गरेको होला भन्ने उनको भनाइ छ।  सिद्धिचरण नगरपालिका वडा नं. २ वडा अध्यक्ष कृष्णबहादुर कार्कीले घटनाबारे आफुले अध्ययन गरेपछि मात्रै थप बताउने जानकारी दिए उनले विस्तृत बुझेर जानकारी गराउने बताए।

सम्बन्धित समाचार