सार्वजनिक शौचालय र ढल निर्माणमा अनियमिता



रतुवामाई । मोरंगको रतुवामाई ४ झुर्कियामा निर्माणाधिन सार्वजनिक शौचालय र ढल निर्माणमा अनियमिता भएको पाईएको छ । निर्माण सामाग्री कमसल प्रयोग गरिएको तथा मनोमानी ढंगले ठेक्का सम्झौता गरि नगरप्रमुखले निकासा दिएको उपप्रमुख दमयन्ता चुँडालले बताउनुभयो ।

आज झुर्कीया बजारमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख रविन राईले अनुगमन समितिको प्रतिवेदन विनै ७५ प्रतिशत निकासा दिएको उपप्रमुख चुँडालले बताउनुभयो । उहाँले भन्नुभयो,‘ अनुगमन समिति संयोजकले प्रतिवेदन पनि दिएको छैन, समितिको बैठक पनि बसेको छैन ।’ प्रमुख प्रशासकीय अधिकृत नभएको समयमा निमित्तको भरमा नगरप्रमुख राईले रकम निकासा दिएको उहाँको भनाई छ ।

निर्माणमा अनियमिता भएको भन्ने जनगुनासो आएपछि गत भदौ २९ गते नगर प्रमुख राईले पत्रकार सम्मेलन गर्दा मात्रै आफुले ७५ प्रतिशत निकासा भईसकेको थाहा भएको बताउनुभयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट तराई–मधेश सम्बृद्ध कार्यक्रम अन्र्तगत कृषि संकलन केन्द्र निर्माणमा प्राप्त रकमलाई योजना परिवर्तन गरि नगरप्रमुख राईले मनोमानी रुपमा काम गरेको उपप्रमुख चुँडालको आरोप छ ।

नगरप्रमुख राईले आफ्नै भाई रोमन राईलाई शौचालय र ढल निर्माणको ठेक्का दिइएको बताउनुभयो । विना प्रतिष्पर्धा ठेक्का दिएको उहाँको भनाई छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको १ करोड १० लाख रकम मध्ये ९४ लाख ५१ हजार ५ सय ५७ रुपैयाँको ठेक्का सम्झौता गरिएको थियो ।

बाँकी रकम क्रमागत योजनामा राखिएको थियो । सम्झौता अनुसार गत आर्थिक वर्षको अत्यतिरबाट निर्माण कार्य शुरु गरिएको थियो । निर्माण कार्यपुरा नहुँदै बनाइएको संरचना भत्कदै जान थालेको छ । शौचालय र ढल निर्माण कार्यमा आफ्नो पनि चित्त नबुझेको वडा नं. ४ का वडाध्यक्ष देवराज राजवंशीले बताउनुभयो । निर्माण सामाग्री कमसल प्रयोग गरि काम गरिएको स्थानीयले बताएका छन् ।

सम्बन्धित समाचार