आफ्नो मेडिकल पसल आफैं अनुगमन



बेंसीसहर । लमजुङ सदरमुकाम बेंसीसहरका मेडिकल सञ्चालकले आफ्नो मेडिकल पसल आफैं अनुगमन गरेका छन्। दसैं तिहारलगायत विभिन्न चाडपर्व नजिकिएपछि बेंसीसहर नगरपालिकाले बजार अनुगमन सुरु गरेको हो। नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख परमेश्वर पिया र उनको आमा धनुदेवी पियाको आआफ्नै मेडिकल पसल छ। उनै परमेश्वरले नगरपालिकाबाट र आमा धनुदेवीले लमजुङ उद्योग बाणिज्य संघबाट अनुगमनको जिम्मेवारी पाए र आआफ्नै पसल अनुुगमनमा खटिए।

बेंसीसहर नगरपालिका र उद्योग बाणिज्य संघले मेडिकल सञ्चालकलाई अनुगमनको जिम्मा दिएपछि सर्वसाधारण चकित परेका छन्। ‘आफ्नो पसल आफैं अनुगमन गर्नु भनेको आफ्नो हात जगन्नाथ भनेजस्तै भयो नी’, स्थानीयकुमार भण्डारीले भने, ‘यस्तो अनुगमन कस्तो भयो होला, सेवाग्राहीले के अपेक्षा राख्ने ? ’ नगरपालिकाले बेंसीशहरमा रहेका औषधी पसल, पोलिक्लिनिक तथा निजी अस्पताल पनि अनुगमन गरेको छ। नगरपालिका स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाको नेतृत्वमा गठित अनुगमन टोलीले बिहीबार बेंसीसहरको शेरा, भिमसेन स्थानचोक, पुरानोे बैंक चोकलगायत १६ वटा पसल अनुगमन गरेको थियो।

अनुगमन टोलीले औषधी पसललाई म्याद गुज्रेका औषधी नबेच्न, व्यवसाय दर्ता सम्बन्धी कागजात ग्राहकले देख्ने गरी राख्न, ग्राहकलाई अनिवार्य बिल दिन, प्रतिवन्धित औषधी डाक्टरको सिफारिसमा मात्रै बिक्रि वितरण गर्न र तोकिएको ढाँचामा रेकर्ड राख्न निर्देशन दिएको अनुगमन टोलीका सदस्य शुसीला श्रेष्ठले बताइन्। पहुँचका आधारमा पूर्वसूचना दिएर अनुगमन हुने गुनासो गर्दै स्थानीयले यस्ता मौसमी अनुगमनले खासै अर्थ नराख्ने बताएका छन्।

सम्बन्धित समाचार