उपत्यकामा रेबिजका बिरामी बढे,सुई लगाउन आउनेको सङ्ख्या दैनिक दुई सय



काठमाडौँ । टेकुस्थित शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालमा दैनिक दुई सय जना कुकुरले टोकेर रेबिजविरुद्धको सुई लगाउन आउने गरेका छन् ।
‘‘दैनिक रूपमा दुई सयको सङ्ख्यामा रेबिजविरुद्धको सुई लगाउन आउनेको सङ्ख्याले पनि प्रष्ट हुन्छ । काठमाडौँ उपत्यकामा धेरै मानिसलाई कुकुरले टोक्ने गरेको छ । कोही व्यक्ति भने लक्षण देखिसकेपछि उपचारका लागि आउने गर्छन्,’’ अस्पतालका प्रवक्ता तथा प्रमुख कन्सलटेन्सी डा. अनुप बास्तोलाले
जानकारी दिनुभयो ।
उहाँले रेबिजविरुद्धको सुई लगाएमा रेबिजको कारण मानिसको मृत्यु नहुने जानकारी दिँदै कतिपय मानिसहरू कुकुरले टोकेको हो, केही हुन्न भन्दै घर बस्नाले मृत्युको मुखमा पुगेको बताउनुभयो ।
अस्पतालका अनुसार सरुवा रोग अस्पतालमा मात्र वार्षिक ३० जनादेखि ४० जनाको रेबिजका कारण मृत्यु हुने गरेको छ । सरकारले निःशुल्क उपलब्ध गराउने सुई लगाएमा रेबिज नलाग्ने भन्दै उहाँले कुकुरले टोकेर सुई लगाउन नआउँदा कतिपयको मृत्यु हुने गरको जानकारी दिनुभयो ।
यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी डा. रोशिका श्रेष्ठले नेपालभर रेबिजका कारण वार्षिक एक सय जनाको मृत्यु हुने गरेको जानकारी दिनुभयो । उहाँले दुई लाखभन्दा बढी डोज ‘एन्टी रेबिज भ्याक्सिन’ खपत हुने गरेको जानकारी दिँदै रेबिजविरुद्ध व्यापक रूपमा जनचेतना जगाउनुपर्ने बताउनुभयो ।
सरुवा रोग अस्पतालका प्रवक्ता डा. बास्तोलाले दिगो विकास लक्ष्य प्राप्तिका लागि सन् २०३० सम्म मानिसमा हुने रेबिजको मृत्युदर शून्यमा पु¥याउने लक्ष्य लिइएको बताउनुभयो ।

सम्बन्धित समाचार