चाडपर्वको मुखमा तलब नपाएको भन्दै शिक्षक आन्दोलनमा



उदययपुर ।  चाडपर्वको मुखमा तलब नपाएको भन्दै उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयका शिक्षक आइतबारदेखि आन्दोलनमा उत्रिएका छन्। जिल्लाका ८ स्थानीय तहमध्ये ७ वटाका शिक्षकले तलब बुझिसक्दा पनि आफूहरुले नपाएको भन्दै उनीहरु आन्दोनलमा उत्रिएका हुन्। चौमासिकरुपमा तलब बुझ्दै आएका शिक्षक आधा मात्र तलब पाउने भएपछि आन्दोलित भएका हुन्।

आइतबारदेखि सांकेतिकरुपमा आन्दोलनमा उत्रिएका शिक्षकले त्रियुगा नगरपालिकाको कार्यालय घेराउ गरेका छन्। घेराउसँगै सभाहलमा उपमेयर देवीकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापा, वडाध्यक्ष एवं सामाजिक विभाग प्रमुख मानबहादुर राईलगायत सरोकारवाला शाखाका कर्मचारीबीच वार्ता जारी राखेपनि वार्ता निष्कर्षबिहीन भएको छ।

शिक्षकले चौमासिकरुपमा बुझ्दै आएको तलब र दसैं खर्च दसैंअघि नै पाउनुपर्ने माग अघि सारेका छन्। यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापाले भने कोष तथा लेखा नियन्त्रण कार्यालयले कुल बजेटको २५ प्रतिशत मात्र बजेट निकासा दिएकाले सबै रकम उपलब्ध गराउन नसकेको बताए।

सम्बन्धित समाचार