चितवनमा हाइब्रिड धान भनेर लगाएको बीउ नक्कली भएको आशंका



काठमाण्डौ । चितवनमा किसानले गरिमा जातको हाइब्रिड धान भनेर लगाएको बीउ नक्कली भएको हुन सक्ने आशंकासहितको प्रतिवेदन अध्ययन समितिले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाललाई बुझाएको छ ।

बीउ नक्कली भए नभएको एकिन विवरण भने धानको डीएनए फिंगर प्रिन्ट परीक्षणपछि मात्र पत्ता लाग्ने छ । बीउ विज्ञान प्रविधि महाशाखा खुमलटारले डीएनए परीक्षणको प्रक्रिया सुरु गरिसकेको समितिले जनाएको छ । समितिका सदस्य एवं बालिविज्ञान महाशाखा खुमलटारका वैज्ञानिक सुशीलराज सुवेदीका अनुसार त्यो धानको बीउ रोपेको ७ दिनमा पात लाग्ने छ र पात लागेपछि मात्र डीएनए परिक्षण गर्न मिल्ने छ । त्यसको ३ दिनमा डीएनएको नतिजा आइसक्ने छ ।

गरिमा जातको हाइब्रिड भनिएको धानमा एक सय २० देखि २५ दिन भित्र पाक्नु पर्ने विशेषता भएको भनिए पनि त्यो अवधिमा बाला नै नलागेको भनेर गुनासो आएपछि मन्त्रालयले अध्ययन गर्नको लागि समिति गठन गरेको थियो ।

राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषाका धान संयोजक डा. रामवरण यादवको संयोजकत्वमा असोज ५ गते १८ सदस्यीय समिति गठन गरिएको थियो । समितिले स्थलगत अनुगमन, निरीक्षण र किसानसँग छलफल र अन्तरकृया गरी तयार पारेको प्रतिवेदन मन्त्री खनाललाई बुझाएको हो ।

नेपालगञ्जका देवानजंग चौधरी म्यानेजिङ डाइरेक्टर रहेको साउथ इस्ट एसियन सीड कम्पनी प्राइभेट लिमिटेडले यो वर्ष त्यस धानको बीउ नेपाल भित्र्याएको थियो । चितवनमा भने सुदीपकुमार पाठकले सञ्चालन गरेको प्रशान्त एग्रोभेटले वितरण गरेको थियो । त्यस एग्रोभेटबाट ९ हजार किलो बीउ चितवनमा र साढे ४ हजार किलो बीउ रौतहट, नवलपरासी, नुवाकोट, लमजुङ, गोरखा र तनहुँमा वितरण गरेको पाइएको समितिले जनाएको छ ।

२०७२ सालमा गरिमा हाइब्रिड जातको बीउ नेपालमा रजिष्टर भएको थियो । यसअघि समस्या नभए पनि यो पटक भित्र्याइएको बीउ गरिमा नभइ मध्यम खालको ल्याएर ‘चिटिङ’ भएको हुन सक्ने समितिको अनुमान छ ।

सम्बन्धित समाचार