संखुवासभा उपनिर्वाचनः मकालुमा ७, खाँदबारीमा २ दलको मनोनयन दर्ता (भिडियो सहित)




खाँदबारी । आसन्न उपनिर्वाचनको लागि जिल्लाको मकालु गाउँपालिका अध्यक्षमा सात दलले मनोनयन दर्ता गरेको छ । खाँदबारी नगरपालिकाको वडा नम्बर ३ को अध्यक्षको लागि भने दुई दलले मात्र मनोनयन दर्ता गराएका छन् ।

गाउँपालिका अध्यक्षको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक मञ्चले मनोनयन दर्ता गराएका हुन् । ठुला दलहरु नेकपाको तर्फबाट तेजबहादुर पोखरेल र नेपाली कांग्रेसबाट बिमन पराजुलीको उमेद्वारी दर्ता गरिएको छ ।

त्यस्तै अन्य दलहरु तर्फ समाजवादी पार्टी नेपालको तर्फबाट नुर्वु शेर्पा, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को तर्फबाट मानबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट रमेश राईको उमेद्वारी दर्ता गराईएको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेघनाथ राई र संघिय लोकतान्त्रीक मञ्चको तर्फबाट कविता राईले उमेद्वारी दर्ता गरिएको छ ।

यता खाँदबारी नगरपालिका वडा नम्बर ३ को अध्यक्षको लागि नेकपा र नेपाली कांग्रेसले मात्र उमेद्वारी दर्ता गराएका छन् । नेकपाको तर्फबाट भरत कुमार घिमिरे र नेपाली कांग्रेसको तर्फबाट बिक्रम गुरुङको उमेद्वारी दर्ता गराईएको छ । मकालु गाउँपालिकाको लागि मकालुको केन्द्र नुम बजारमा स्थापना गरिएको निर्वाचन कार्यालयमा मनोनयन दर्ता गरिएको थियो भने खाँदबारीको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिएको थियो ।

२०७४ पुष ३० गते गाउँकै सामाटार भन्ने स्थानमा सवारी दुर्घटनामा परेर तत्कालिन अध्यक्ष खड्गबहादुर कटुवालको निधन भएपछि अध्यक्षको पद रिक्त भएको थियो । त्यस्तै खाँदबारी नगरपालिका वडा नं. ३ का अध्यक्ष तायोनाथ ढुंगानाको पनि एक बर्षअघि हृदयघातको कारण मृत्यु भएको थियो । यसरी रिक्त रहेको पदहरुमा उपनिर्वाचन हुन लागेको हो ।

गाउँपालिका अध्यक्षको निर्वाचनका लागि मकालु गाउँपालिकामा १३ वटा मतदान केन्द्र तोकिएको छ भने वडा अध्यक्षको निर्वाचन हुन लागेको खाँदबारी ३ मा २ वटा केन्द्र तोकिएको छ । मकालुमा ९ हजार १ मतदाता रहेका छन् भने खाँदबारी ३ मा १ हजार ८ सय २२ जना रहेका छन् ।

खाँदबारी ३ को अध्यक्षको लागि मनोनयन दर्ताको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।

सम्बन्धित समाचार