सभापोखरीका विद्युत पिडितहरुलाई विद्युत प्राधिकरणद्वारा क्षतिपुर्ति



खाँदबारी । विद्युतबाट पिडित बनेका सभापोखरी गाउँपालिका ६ का नागरिकहरुलाई विद्युत प्राधिकरणले क्षतिपुर्ती उपलब्ध गराएको छ । विद्युतबाट करेन्ट लागेर मृत्यूभएको एक र घाईते ५ जनालाई प्राधिकरणको खाँदबारी वितरण शाखाबाट आईतबार क्षतिपुर्ति उपलब्ध गराएको हो ।

करेन्ट लागेर मृत्यू भएको सभापोखरी ६ का भुपाल विश्वकर्माको परिवारलाई किरिया खर्च सहित पाँच लाख १५ हजार रुपैयाँ उपलब्ध गराईएको छ । त्यसै गरि अन्य घाईतेहरुलाई उपचार खर्चको विल भर्पाईको आधारमा रकम उपलब्ध गराईएको हो । जस अनुसार तारा विश्वकर्मालाई ९ हजार ६ सय ८३ रुपैयाँ, भगवती विश्वकर्मालाई १३ हजार ५ सय ९७ रुपैयाँ, मञ्जु तिरुवालाई ६ हजार ७ सय २५ रुपैयाँ उपलब्ध गराईएको हो । त्यस्तै, धनमान लिम्बुलाई ९ हजार र कुलबहादुर विश्वकर्मालाई ६ हजार ८ सय २५ रुपैयाँ उपलब्ध गराईएको हो ।

गत बैशाख १८ गते सभापोखरीको स्वाची गाउँमा फुल पावरको भोल्टेज गएपछि एकै समयमा यस्तो घटना भएको हो । गाउँ नजिकै रहेको ट्रान्सफर्मरमा खराबी आएपछि गाउँभरि नै फुल भोल्टेजको करेन्ट प्रबाह हुँदा यस्तो हुन गएको नेपाल विद्युत प्राधिकरणको खाँदबारी वितरण केन्द्रका प्रमुख रामअसिस शाहले बताउनुभयो । करेन्ट लाग्दा भुपाल विश्वकर्माको घटनास्थलमा नै मृत्यु भएको थियो । घाईते भएकाहरुलाई खाँदबारी अस्पतालमा उपचार गरिएको थियो भने भगवती विश्वकर्माको उपचारको लागि भारत लगिएको थियो ।

विद्युतका पिडितहरुलाई नेपाल विद्युत प्राधिकरण विद्युत दुर्घटना क्षतिपुर्ति बिनियमावली २०७६ को बिनियम १२ को आधारमा क्षतिपुर्ति उपलब्ध गराईएको खाँदबारी वितरण केन्द्रका प्रमुख शाहले जानकारी दिनुभयो ।

गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार