देश १ का प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलको भ्रमणका लागि हवाईजहाज सेवा सुरु



विराटनगर । प्रदेश १ का प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलको भ्रमणका लागि हवाईजहाज सेवा सुरु हुने भएको छ । हवाईसेवाका लागि विराटनगरस्थित विराट होलिडे ग्रुप, सीता एयर र माउन्टेन हेलिकप्टर कम्पनीबीच सहमति बनेको छ । होलिडे ग्रुपका अध्यक्ष भविषकुमार श्रेष्ठका अनुसार मंसिर तेश्रोसाताबाट ताप्लेजुङको पाथीभरा मन्दिर, खोटाङको हलेसीसंगै विभिन्न हिमालय क्षेत्रको दृष्यावलोकनका लागि हवाई सेवा सुरु हुनेछ ।

हाल तीन तरिकाबाट उडान गर्ने सोचमा रहेको बताउँदै अध्यक्ष श्रेष्ठले भने, ‘विराटनगरबाट हवाईसेवा ताप्लेजुङको सुकेटार र त्यहाँबाट हेलिकप्टरमा पाथीभरा मन्दिर लगिनेछ । सुकेटारमा रहने हेलिकप्टरले त्यँहीबाट मन्दिर जान चाहनेहरुका लागि समेत सेवा दिनेछ ।’ सुकेटारबाट पाथीभरासम्मको हेलिकप्टर उडान ७ देखि १० मिनेटको हुनेछ ।

त्यसैगरि, माउन्टेन हेलिकप्टरले धरानबाटै पाथिभरा उडान भर्ने बताइएको छ । यसैगरी हलेसी महादेवको दर्शन गर्न जान चाहने भक्तजनहरूलाई धरानबाटै हेलिकप्टरमा लगिनेछ । हेलिकप्टरले एक पटकमा ५ जना यात्रु बोक्नेछ । नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख टेकनाथ सिटौलाले अन्तरिक उडानका लागि माथिल्लो निकायमा कुरा भइसकेको अवस्थामा उडान गर्न सकिने र यहाँको भिजिविलिटी हेरि उडान हुनसक्ने बताए । आन्तरिक उडानका विषयमा कुनै जानकारी भने नआएको बताउँदै उनले, ‘अहिलेसम्म माथिल्लो निकायबाट केही औपचारिक जानकारी आएको छैन ।

मुख्यतः भ्रमणवर्ष २०२० लाई समेत यस सेवाले सहजता दिने बुझाई पर्यटन व्यवसायीहरुको बुझाइ छ । पाथीभरा माताको मन्दिरसम्म पुग्नका लागिका सडकको यात्रा कष्टकर हुने र सहजताका लागि हवाईसेवाले सुलभ मूल्यमा सेवा उपलब्ध गराउने उनीहरु बताउँछन् । यसअघि विभिन्न कार्यक्रमका क्रममा उपलब्ध गराइएको हेलिकप्टर सेवामार्फत पाथीभरा माताको दर्शनका लागि ३५ हजार रुपैयाँसम्मको प्याकेज रहेको थियो । होलिडे ग्रुपका अध्यक्ष श्रेष्ठ भन्छन्, ‘यसपटक पुरानो शुल्क भन्दा आधा रकममा यात्रा गर्न पाइनेछ । जसले धार्मिक तथा आन्तरिक पर्यटकका लागि सहजता प्रदान गर्नेछ ।’

केहीदिन अघि यसैविषयमा प्रदेश १ का पर्यटन व्यवसायीसहित सीता एयरका सञ्चालक सुुरेश राठी, प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंह, माउन्टेन हेलिकप्टरका महाप्रबन्धक दिलबहादुर ओलीबीच छलफल भएको थियो ।

सम्बन्धित समाचार