संखुवासभाः उपनिर्वाचनका लागि मतपत्र र मतपेटिका केन्द्रमा पठाईयो




खाँदबारी । उपनिर्वाचनका लागि मतपत्र र पेटिका पठाउन सुरु भएको छ। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक सामग्रीहरु भौगोलिक रुपमा विकट गाउँमा पठाउन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय संखुवासभाका प्रमुख चोलाराज दङ्गालले जानकारी दिए।

पहिलो चरणमा भौगोलिक रुपमा विकट मानिएका मकालु गाउँपालिकाको पाँचपोखरी आधारभूत विद्यालय निभारे र सेतीकन्या निम्न माध्यमिक विद्यालय कारमारङमा मंगलबार मतपत्र र मतपेटिकासहित कर्मचारी पठाइएको निर्वाचन कार्यालय प्रमुख चोलाराजले जानकारी दिए। बुधबारसम्ममा दुई वटै स्थानीय तहका मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी खटाइने छ। ‘हामीले १० वटा मतदान स्थल र १३ वटै मतदान केन्द्रमा पठाउने निर्वाचन सामग्री तयारी अवस्थामा राखेका छौं,’ दंगालले भने, ‘बाँकी रहेका अन्य स्थानमा बुधबार नै पठाउन तयारी पूरा भएको छ।

उपनिर्वाचनका लागि ७४ जना कर्मचारी खटाइने छ।’ संखुवासभामा १० मतदान स्थललाई जिल्ला सुरक्षा समितिले संवेदनशीलमा मानिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए। प्रजिअ दुलालका अनुसार एक मतदान स्थलको दुई मतदान केन्द्रलाई मात्रै सामान्य संवेदनशीलको सूचीमा राखिएको छ। निर्वाचन हुने मकालु गाउँपालिकामा ९ हजार १ मतदाता रहेका छन् भने खाँदबारी नगरपालिका–३ मा १ हजार ८३० मतदाता छन्। मकालुमा गाउँपालिका अध्यक्ष र खाँदबारी–३ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ।

यसैविच, उपनिर्वाचनका लागि ३०० जनाभन्दा सुरक्षाकर्मी परिचालन हुने प्रजिअ दुलालले जानकारी दिए। एक मतदान केन्द्रमा १५ जना नेपाल प्रहरी र १० जना सशस्त्र प्रहरी परिचालन गरिने छ। भौगोलिक रुपमा विकट स्थान भएका केही स्थानमा मंगलबार नै सुरक्षाकर्मी पुगिसकेको र अन्य स्थानमा बुधबारसम्म पुगिसक्ने छन्। उपनिर्वाचनमा नेपाली सेनाले बाहिरी घेरामा गस्ती गर्न बताइएको छ। उपनिर्वाचनमा जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी खटिने छन्। दुई स्थानीय तहमा १० वटा मतदान स्थल र १३ वटा मतदान केन्द्र तोकिएको छ।

थाहा खबरको सहयोगमा ।

सम्बन्धित समाचार