चैनपुर नगरपालिकाले मात्र सरकारी लक्ष्यको एक प्रतिशत पर्यटक भित्राउने




चैनपुर । पर्यटन बर्ष २०२० मा सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । त्यसमध्ये सङ्खुवासभाको चैनपुर नगरपालिकाले मात्र एक प्रतिशत पर्यटक भित्राउने लक्ष्य लिएको छ ।

चैनपुर नगरपालिका भित्र रहेको पर्यटकिय क्षेत्र र स्थलहरुको अध्ययन र अवलोकनको क्रममा चैनपुर नगरपालिकामा मात्र २० हजार पर्यटक भित्राउने तयारी गरिएको चैनपुर नगरपालिकाका प्रमुख भरत खत्रीले जानकारी दिनुभयो । उहाँले गोरखापत्र दैनिकसँग कुरा गर्नुहुँदै चैनपुर भित्रको पर्यटकिय स्थलको भ्रमणको लागि धेरै भन्दा धेरी पर्यटकहरु भित्राउने गरि तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

सरकारले पर्यटन बर्ष २०२० को लागि तोकेको उत्कृष्ट सय गन्तब्य भित्र चैनपुर नगरपालिकाको वालेश्वर महादेव क्षेत्र पनि परेको छ । यस क्षेत्रमा पर्यटकहरुको आकर्षणको लागि विभिन्न भौतिक संरचनाहरुको मर्मत तथा स्तर उन्नती गरिएको छ । वालेश्वर क्षेत्रको विकासका लागि संघिय सरकारबाट ७५ लाख रुपैयाँ प्राप्त भएको र त्यसमा गाउँपालिकाले २५ लाख रुपैयाँ थपेर एक करोड रुपैयाँको लागतमा भौतिक संरचना निर्माण तथा स्तर उन्नती गरिएको नगर प्रमुख खत्रीले जानकारी दिनुभयो । उक्त बजेटले वालेश्वर क्षेत्र जानको लागि पदमार्गको निर्माण, घेराबारा, रंगरोगन लगायतका कार्यहरु गरिएको उहाँले जानकारी दिनुभयो ।

चैनपुर नगरपालिकाले विशेष गरि धार्मिक पर्यटकहरुको संख्या बढाउने योजना बनाएको हो । वालेश्वर महादेवसँगै सिद्धकाली मन्दिर पनि चैनपुर नगरपालिकाको धार्मिक पर्यटकहरुको केन्द्रको रुपमा रहेको छ । सिद्धकाली को दर्शन गर्न आउनेहरुको संख्यामा पनि बृद्धि गरेर २०२० मा बीस हजार बढी पर्यटकहरु भित्राउने योजना बनाईएको नगरपालिका प्रमुख खत्रीको भनाई छ । सती देवीको दाहिने आँखा पतन भएको जनविश्वास रहेको सिद्धकालीको दर्शन गर्न यस अघि पनि बार्षिक हजारौ धार्मिक पर्यटकहरु आउने गरेको थियो । सिद्धकाली मन्दिर क्षेत्रसम्म पुग्नको लागि नगरपालिकाले बाह्रै महिना चल्ने सडकको ब्यवस्था गरेको छ । सतिदेवीको देब्रे आँखा पतन भएको भनिएको भारतको नैनताल र सिद्धकाली विच सम्बन्ध बढाएर धार्मिक पर्यटकहरुको आवतजावतमा बृद्धि गराउन नगरपालिका लागिपरेको खत्रीको भनाई छ ।

सङ्खुवासभाकै अर्को पर्यटकिय क्षेत्रको रुपमा रहेको गुफा पोखरी पनि चैनपुर नगरपालिकामा नै पर्ने भएकोले २० हजार पर्यटकहरु चैनपुर नगरपालिका मात्र भित्रिने नगरपालिकाको दावी छ । प्राकृतिक रुपले सुन्दर गुफा पोखरी पुग्नको लागि नगरपालिकाले सडकको स्तर बृद्धि गरेको छ । सडकको स्तर बृद्धिसँगै चैनपुर बजारबाट डेढ घण्टा भित्र नै गुफा पोखरी पुग्न सकिन्छ ।

पर्यटकहरुको आकर्षण तथा जानकारीको लागि ब्रुसर प्रकाशन गरिएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा आउने पर्यटकहरुको सहजताको लागि नगर स्तरिय हेल्पडेस्क राख्ने र सम्पुर्ण लगत संकलन समेत गर्ने तयारी रहेको मेयर खत्रीले जानकारी दिनुभयो । चैनपुर नगरपालिकाको केन्द्र चैनपुर बजार तुम्लिङटार विमान स्थलबाट ३० मिनेटको मोटरबाटोमा छ । यहाँ धरान, हिले, बसन्तपुर हुँदै सडक मार्गबाट आउन सकिन्छ भने हिलेबाट लेगुवा हुँदै पनि चैनपुर आउन सकिन्छ ।

सम्बन्धित समाचार