ओझेलमा खेम्पालुङ धाम



सङ्खुवासभा । नेपालमा पर्यटन बर्ष २०२० मनाईरहदा पर्यटनको अथाह सम्भावना बोकेको सङ्खुवासभाको खेम्पालुङ धाम भने ओझेलमा परेको छ । संघ, प्रदेश र स्थानीय सरकारले पर्यटन ब्यवस्थापनमा चासो नदिदा खेम्पालुङ ओझेलमा परेको हो ।

जिल्लाको सिलिचोङ गाउँपालिका वडा नं. ५ याफुमा रहेको यस धाममा अहिले पनि बर्षेनी करिव पाँच सय बढी धार्मिक पर्यटकहरु आउने गर्छन् । नेपालको पुर्वी क्षेत्रका विभिन्न जिल्ला सँगै भारतको सिक्किम, दार्जेलिङ लगायतका ठाउँबाट समेत धाममा मानिसहरु आउने गर्छन् । यस धामको गुफा भित्र रहेको देवी देवताको दर्शन गरे मनोकाक्ष पुरा हुने विश्वास लिईन्छ । निसन्तानहरुले यहाँको दर्शन गरे सन्तान प्राप्त हुने समेत विश्वास गरिन्छ । केही दर्शनार्थीहरुले खेम्पालुङ धामको दर्शन गरेर सन्तान पाएको समेत स्थानीय बताउछन् ।

यहाँसम्म पुग्ने पदमार्ग लगायतको भौतिक पुर्वाधारको विकासमा कसैले चासो नदिदा पर्यटकहरुले समस्या भोग्नु परेको छ । गौथला भन्ने गाउँबाट करिब एक घण्टाको उकालो बाटोमा रहेको यस गुफामा दर्शन गर्न जाने बाटो मर्मत हुन नसक्दा समस्या भोग्नु परेको छ । त्यस्तै, त्यस क्षेत्रमा राम्रो खाने र बस्ने ब्यवस्था नहुँदा पर्यटकहरु स्थानीय वासीको घरमा दुख गरेर रात काट्नु परेको छ । खेम्पालुङ गुफाको प्रचार प्रसारमा समेत चासो नदिईदा पछिल्लो समय पर्यटकहरुको संख्या बढ्न सकेको छैन । यस धामको प्रचार गर्न सके धेरैले दर्शन गरि लाभ लिने र पर्यटकहरुको संख्या बढ्ने स्थानीय वाङ्दी शेर्पाको भनाई छ ।

खेम्पालुङ गुफा क्षेत्रको विकासको लागि सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने स्थानीयको माग छ । त्यस क्षेत्रमा पुग्न सडक पुर्वाधार निर्माण गर्नु पर्ने स्थानीयले माग राख्दै आएका छन् । तत्काल सडक निर्माण गर्न नसकिए गोरेटो बाटो मात्र भएपनि निर्माण गर्नु पर्ने गौथला गाउँका आङ्रिता शेर्पाले बताउनुभयो । यस विषयमा गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङसँग कुरा गर्दा समग्र गाउँपालिकाको पर्यटन गुरुयोजना तयार भईरहेको जानकारी दिनुभयो । पर्यटन गुरुयोजना तयार भईसकेपछि खेम्पालुङ धामको विकासको लागि आवश्यक पर्ने सम्पुर्ण कार्यहरु गरिने उहाँले बताउनुभयो । गुरुयोजना पश्चात खेम्पालुङसँगै गाउँपालिकाको सवै पर्यटकिय क्षेत्रहरुको विकासमा लाग्ने उहाँको भनाई छ ।

खेम्पालुङ धाममा लामो गुफा रहेकोले खेम्पालुङ गुफा पनि भनिदै आएको छ । उक्त गुफाको प्रवेश द्वारबाट भित्रिएपछि गुफा पार गर्न करिव ३० मिनेट लाग्छ । उक्त गुफा भित्र विभिन्न देवीदेवताको आकृति भएको चट्टान, जंगली जनावरका पञ्जा लगायतका आकृतिहरु ढुङ्गामा कुँदिएको भेटिन्छ । गुफा भित्र रहेको भगवानहरुलाई पुज्दै गुफा पार गरिन्छ । स्थानीयका अनुसार खेम्पालुङ धामको दर्शन गर्न फागुन र चैत महिनामा बढी धार्मिक पर्यटकहरु आउने गर्छन् ।

खेम्पालुङ धाम पुग्नको लागि जिल्लाको सदरमुकाम खाँदबारीबाट दुई दिन लाग्छ । खाँदबारीबाट हेलुवाबेँशी हुदै सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कुबाट धाम पुग्न सकिन्छ । त्यस्तै, चिचिला गाउँपालकाको दिदिङबाट तम्बेबेँशी हुदै याफुबाट पनि धाम पुग्न सकिन्छ । त्यसको अलवा मकालु गाउँपालिकाको वडा नम्बर १ को मयुम हुँदै अप्सुवा खोला तरेर पनि खेम्पालुङ पुग्न सकिन्छ ।

सम्बन्धित समाचार