भेडेटारमा बन्न लागेको स्काई वाकमा निफ्राले लगानी गर्ने



इटहरी । धनकुटा र सुनसरीको सिमानामा पर्ने भेडेटारमा स्काइ वाक बनाउन नेपाल इन्फ्रास्ट्रकचर बैङ्क लिमिटेड निफ्रा ले ऋण लगानी गर्ने भएको छ। वन्डर्स ग्रुपले निर्माण गर्न लागेको “स्काइ वाक टावर” परियोजनामा ऋण लगानी गर्ने भएको हो । योजनाका अध्यक्ष आकर्षण पोखरेल र बैङ्कका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले सोमबार सम्झौतामा हस्ताक्षर गरेका हुन्।

काठमण्डौको कमलादी र भेडेटारमा बन्न लागेका दुवै रियोजनाको लागी निफ्राले ६७ करोड ५० लाख ऋण लगानीमा गर्ने भएको छ। वन्डर्स ग्रुपले काठमाण्डौमा निर्माण गर्ने भनिएको स्काई वाकमा जम्मा १ अर्ब लगानी हुने भएको छ। ७८ मिटर उचाइको टावरमा रेस्टुरेन्ट, योगशाला लगायत मनोरम वातावरण अवलोकनको व्यवस्था हुनेछ।

सोही ग्रुप अन्तरगत वन्डर्स एम्युजमेन्ट पार्क एण्ड अट्राक्सन प्रालीले भेडेटारमा निर्माण अगाडी बढाइएको परियोजनामा २० करोड लगानी हुने अनुमान गरिएको छ । सार्वजनिक निजी साझेदारी अवधारणा अनुरूप निर्माण हुन लागेको सो परियोजनाले प्रदेश १ को पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

नेपालकै पहिलो र नमुना परियोजना भएकोले पर्यटन क्षेत्रमा कोशेढुङ्सा साबित हुने लगानीकर्ता सुनिल भुसालले बताए। सिसामा हिँडेर मनोरम वातावरणको अवलोकन गर्न पाउनु पर्यटकको लागी नयाँ अवसर भएको उनको भनाई छ।

भेडेटार आफैमा पर्यटकीय क्षेत्र पनि भएकाले यस परियोजनाले झनै सुनमा सुगन्ध थप्ने उनको विश्वास छ । परियोजनाको कारण पूर्वी नेपालका मात्र नभएर भारतको विहार र सिक्किमका पर्यटकको आगमन बढ्ने उनले बताए।

 

सम्बन्धित समाचार