नासाले फेला पार्‍यो मंगल ग्रहमा जैविक अणु


२३ कार्तिक २०७८, मंगलबार


काठमाडौं। अमेरिकी अन्तरीक्ष संस्था नासाको क्युरोसिटी रोभरले मंगल ग्रहमा हालसम्म अज्ञात रहेका जैविक अणुहरु पत्ता लगाएको छ ।

मंगल ग्रहमा एमोनिया र बेन्जोइक एसिड जस्ता अर्गानिक अणुहरु फेला पर्नुलाई त्यहाँ परापूर्व कालमा जिवहरु रहेको संकेतको रुपमा लिइएको छ ।

सन् २०१७ मा नासाले क्युरोसिटी रोभरमा नयाँ प्रविधिको प्रयोग गरेसँगै संकलित नमूनाको परीक्षणका क्रममा जैविक अणुहरु फेला परेका हुन् । त्यतिबेला उक्त रोभरले ड्रिल गर्न छाडेसँगै नासाले रोभरमा रासायनिक मिश्रणले भरिएका कपहरु राखेर मंगल ग्रहका धुलोहरु जम्मा गर्न थालेको थियो ।

त्यसरी संकलित धुलोहरुमा बेन्जोइक एसिड र अमोनिया पाइएको हो जुन प्राकृतिक रुपमा वनस्पती र जनावरहरुमा पाइन्छ ।

ती अणुहरु विगत र वर्तमानमा जिवहरु रहेको भन्ने कुराको ठ्याक्कै जैविक सूचक नरहेतापनि अन्य जैविक सूचक रहेको कुराको भने प्रष्ट संकेतको रुपमा रहेका नासाका शोधकर्ताको भनाई छ ।

मंगल ग्रहमा जैविक अणुहरुको खोजी गर्नुको उद्धेश्य ग्रहको विगतको बसोबास योग्यताका विषयमा बुझ्नु र जैविक सूचक हरु पत्ता लगाउनु रहेको नासाका शोधकर्ता बताउँछन् ।

मंगल ग्रहको मौसम तथा भूगर्भका बारेमा अनुसन्धान गर्नका लागि मंगलको गेल क्रेटरमा जिवनको सम्भावना छ कि भन्ने कुरा पत्ता लगाउनका लागि सन् २०१२ को अगष्ट ६ मा क्युरोसिटी रोभर मंगल ग्रहमा अवतरण गरेको थियो ।

नासाले सन् २०११ को नोभेम्बर २६ मा क्युरोसिटी रोभर प्रक्षेपण गरेको थियो । ८ सय ९९ केजी तौलको उक्त रोभर प्लुटोनियम इन्धको श्रोतबाट चल्ने गर्दथ्यो । त्यसको पाँच वर्षसम्म क्युरोसिटीले लगातार उल्लेखित क्षेत्रहरुमा ड्रिल गरेर नमूना संकलन गरेको थियो ।
स्मरण रहोस् मंगल ग्रहमा जिवनको सम्भावनाको खोजी गर्नका लागि नासाले सन् २०२० मा पर्सभेरेन्स नामक अर्को रोभर मंगल ग्रहमा पठाइसकेको छ । त्यस्तै युरोपेली अन्तरीक्ष एजेन्सीले सन् २०२२ मा फ्रांकलिन मार्स रोभर मंगल ग्रहमा पठाउने योजना बनाएको छ ।

सम्बन्धित समाचार