संखुवासभा । जिल्लाको ग्रामीण भेगका किसानहरूलाई गाउँमा उत्पादित दूध बजारसम्म लैजानै समस्या छ। जसको कारण उत्पादित दूध विक्री वितरण गर्नुभन्दा पनि आफैँले खपत गर्नु पर्ने अवस्था छ।
व्यवसायिक रुपमा केही किसानहरुले दूध उत्पादनको लक्ष्य लिएर व्यावसायिक रुपमा पशुपालन गरिरहेका छन्। तर ती कृषक पनि लगानी तथा मेहनत अनुसारको आम्दानी लिन नसकेको गुसानो गर्छन्।
उनीहलाई उत्पादित दूध सहजरुपमा बजारसम्म लैजाने वातावरण छैन। सदरमुकाम आसपासमा पर्ने बोखिम, दावा, पोखरे, खुरीला, ढुङ्गेलगायत ठाउँका मानिसहरु पराम्परागत रुपमा भए पनि पशुपालन व्यवसाय गरिरहेका छन्।
बजारमा लैजान समस्या हुने भएपछि ती भेगका मानिसहरु खास व्यवसायिक रुपमा दूध उत्पादनमा लागेका छैनन्। स्थानीय सरकारले उपयुक्त वातावरण मिलाइदिए व्यावसायिक रुपमा लाग्ने किसानहरु बताउँछन्।
बजारसम्म दूध ल्याएर बेच्न किसानलाई सडकको समस्या छ। केही समय बजारमा ल्याएर दूध बेच्न थालेका किसानहरु पछिल्लो समयमा आएर बेच्न छाडेको अनुभव सुनाउँछन्। एकदेखि डेढ घण्टा लगाएर बिक्री गरेको दूधको खास आम्दानी नहुने भोजपुर नगरपालिका –५ बोखिमका भैँसीपालक कृषक रुपनारायण फुँयालले बताए।
किसान फुँयालले भने,‘ मैले केही समय बजारमा लगेर दुध बेचेँ। आउँदा र जाँदा एक जनाको बिहान बित्छ। बजारका होटलमा लग्यो नियमित रुपमा लिँदैनन्। डेरीहरूले पनि चाडपर्वबाहेक अरूबेला बहाना बनाएर किसानलाई दुःख मात्र दिएको देख्छु।
व्यवसायिक रुपमा दुग्ध व्यवसाय सञ्चालन गरेकाहरुले दहि, ध्यू, पनिर, छुर्पी लगाएतको मुल्य वर्सेनी बढाएपनि दूधको मुल्य बढाएर दिन नमान्ने समस्याले पनि दुध विक्री गर्न छाडेको अर्का स्थानीय कृषक हर्कलाल लुइँटेलको भनाइ छ।
कृषक लुइँटेलले भने, ‘हामी कृषकले उद्योगमा लगेर बिक्री गर्दा ४५ देखि ५५ रुपैयाँ पाउछौँ। मैले विक्री गर्न थाल्दा यही मूल्य थियो। उद्योगले प्रति केज ८०० मा विक्री हुँदै आएको ध्यूको मूल्य रु १२००, पनिर ८०० र रु. ८० मा बेच्दै आएको दही रु. ९० पुगेको छ। तर दुधको मुल्य बढाउन व्यवसायी मान्दैनन्। हामी किसान मारमा छौँ। यो कसले सुनिदिनेरु’ उनले प्रश्न गरे।
उद्योगको विकास विस्तार गर्नुको सट्टामा व्यवसायी अनुदानमुखी बन्दा उद्योगको विकास भन्दापनि ब्यक्तीलाई मात्र लाभ पुगेको सरोकारवाला पक्षले बताउने गरेका छन्।
समय-समयमा यहाँका दुग्ध उद्योग तथा व्यवसायीहरुले विभिन्न ठाउँबाट अनुदान सहयोग पाएका छन्, तर ती उद्योगहरुले खास उपयुक्त ढंगले यस क्षेत्रको विकासमा लगानी नगरेको स्थानीयहरुको भनाइ छ।
बजारमा विभिन्न समयमा दूधको अभाव हुनुमा व्यवस्थापन राम्रो नभएको स्थानीय कृषकको भनाइ छ। यहाँ उत्पादन भएको दूधलाई बजारीकरणको लागि सहजता प्रदान गर्न सके बजार धान्न समस्या नहुने स्थानीय किसान राम बहादुर कार्कीले बताए।
किसान कार्कीले भने,‘ केही व्यवसायीहरूले नाफालाई मात्र ध्यान दिएर यहाँको उत्पादनलाई प्राथमकिता दिन छाडेर बाहिरबाट दूध ल्याएर बेच्छन्। नियमित रुपमा दूध लिन नमानेपछि किसानले बजारमा दूध ल्याउन छाडेको अवस्था पनि छ।ु
भोजपुर नगरपालिका– ४ दावाका किसान गणेश विष्टले पनि मोटरसाईलमा ल्याएर दैनिक बजारमा ३५ देखि ४० लिटर दूध विक्री गर्दै आएका छन्। उनले इलामबाट उन्नत जातको गाई ल्याएर पालन गरिरहेको बताए। किसान विष्टले भने, ‘व्यावसायिक रुपमा गाईपालन गरेर बजार ल्याएर दूध विक्री गर्दै आएको छु। कच्ची सडक हिलाम्य बन्दा वर्षातको समयमा भने पिठ्यूँमा बोकेर मुख्य सडकसम्म लैजानु पर्ने अवस्था छ।’
करिब १० वर्ष अघिबाट भोजपुर बजारमा गणेशथान दूग्ध उद्योग सञ्चालन गर्दै आएका ज्ञान बहादुर कार्कीले बजारमा माग धान्न नसकेको बताए। किसानहरुमा दूध विक्री गर्ने धारणा अझै विकास हुन नसेको उनको भनाइ छ।
प्रतिक्रिया