दुर्गा प्रसाईंलाई भेटेका व्यक्ति दुबईका असली राजकुमार नभएको खुलासा



झापा । नेपाल भ्रमणमा आएका दुबईका राजकुमार भनिएका शेख मोहम्मद मक्तुम जुमा ला मक्तुम दुबईका असली राजकुमार नभएको खुलासा भएको छ।

दुबईका क्राउन प्रिन्स अर्थात् राजकुमार नेपाल भ्रमणको क्रममा झापा आएको भन्दै शनिबार सञ्चारमाध्यममा समाचार आयो। दुबईको राजकुमार नेपाल भ्रमण आएको बारेमा परराष्ट्र मन्त्रालयसहित देशका उच्च सुरक्षा निकायहरूलाई नै थाहा थिएन।

सञ्चारमाध्यममा राजकुमारको बोरमा समाचार आएपछि सुरक्षा संयन्त्रभित्रै खैलाबैला मच्चियो।

दुबईका राजकुमार आउँदा नेपाल सरकारले विशेष कूटनीतिक मान्यता दिनुपर्ने हुन्छ। उच्च सुरक्षा दिनुपर्ने हुन्छ। राजकुमारको स्वागतमा मन्त्री तहका व्यक्ति तथा उच्च अधिकारीहरू विमानस्थलमा पुग्नुपर्ने हुन्छ। अचम्म के हो भने दुबईका क्राउन प्रिन्स राजकुमार आफ्नो निजी विमानमा मात्र उडान गर्छन्। तर, यी राजकुमार भने सर्वसाधारण झैँ यात्रु विमानबाट काठमाडौँको विमानस्थलमा उत्रिएका थिए।

त्यसपछि उनी झापातर्फ लागे। तर, राजकुमार शेख मोहम्मद मक्तुमको स्वागतका लागि झापाका चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहितको टोली चन्द्रगढी विमानस्थल पुगेर स्वागत गरेका रहेछन्।

राजकुमार शेख मोहम्मद मक्तुमको स्वागतका लागि विमानस्थलमा तैनाथ सुरक्षाकर्मीबाहेक जिल्लाका सुरक्षा निकायका प्रमुखहरू समेत विमानस्थलमा देखिएनन्।

‘दुबईका राजकुमार जस्तो उच्च व्यक्तित्व जिल्लाका प्रहरी, प्रशासनलाई समेत जानकारी नदिई कसरी एक्कासि झापा आउनुभयोरु हामी त्यसको सोधखोजमा लाग्यौँ’, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘पछि बुझ्दै जाँदा उहाँ दुबईका अधिराजकुमार चाहिँ हुन्, असली राजकुमार नेपाल भ्रमणमा आएकै रहेनछन्।’

दुबईका क्राउन प्रिन्स अर्थात् राजकुमार शेख हमदन बिन मोहम्मद बिन रसिद अल मक्तुम हुन्। नेपाल आए भनिएका राजकुमारको नाम चाहिँ शेख मोहम्मद मक्तुम जुमा ला मक्तुम हुन्। वास्तवमा नेपाल आएका राजकुमार दुबईका शाही परिवारका टाढाका नातेदार हुन् तर त्यहाँको शक्तिशाली राजकुमार भने होइनन्।

दुबईको जनसङ्ख्या थोरै छ, त्यहाँ शाही परिवारसँग प्राय सबैको नाता पर्छ। प्राय सबैले आफूलाई अधिराजकुमार भन्ने गर्छन्। त्यस्तै मध्येका एक अधिराजकुमार नेपाल आएको बुझियो। दुबईका वास्तविक क्राउन प्रिन्स झापा आएका होइनन्।

‘परराष्ट्र मन्त्रालयले उनलाई भिभिआइपी भनेर सम्बोधन गरेर पत्र चाहिँ पठाएको हो,’ प्रजिअ रिजालले भने, ‘उहाँ मेडिकल व्यवसायी दुर्गा प्रसाईँजीको निम्तोमा झापा आउनुभएको हो, उहाँ आज बिहान पूर्वाञ्चल क्यान्सर अस्पतालमा जडान गरिएको पेट सिटी स्क्यानको उद्घाटन गर्नुभयो।’

सम्बन्धित समाचार