दाङमा कारको ठक्करबाट एक यात्रुको मृत्यु



दाङ । दाङमा कारको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १० सौरीकुला निवासी करिब २४ वर्षीय देवराज चौधरी रहेको प्रहरीले जनाएको छ।

आइतबार राति पौने १० बजेतिर घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका १० जलौरा चोकमा कारले चौधरीलाई ठक्कर दिएको थियो। नारायणपुरबाट घोराहीतर्फ जाँदै गरेको बा ०१–२५ च ७७६४ नम्बरको कारले ठक्कर दिँदा चौधरी सिकिस्त भएका थिए।

उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा राति करिब साढे १० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। मृतक चौधरीको शवलाई प्रतिष्ठानको शवगृहमा राखिएको छ।

सम्बन्धित समाचार